काठमाडौं, भदौ ६। युरोपा लिगको उपाधि स्पेनिस क्लब सेभिल्लाले जितेको छ । यो जित संगै सेभिल्लाले छैटौं पटक युरोपा लिगको उपाधि जितेको छ ।
शुक्रबार राति भएको फाइनल खेलमा इटालियन क्लब इन्टर मिलानलाई ३–२ गोलले हराउँदै सेभिल्लाले उपाधि जितेको हो ।

जर्मनीको रेइन इनर्जी स्टेडियममा भएको खेलमा सेभिल्लालाई जिताउन दुई गोल लुक डी योङले गरे भने एउटा आत्मघाती गोल उपहारमा पाएको थियो । यता, इन्टरका लागि रोमेलु लुकाकु र डिएगो गोडिनले समान एक–एक गोल गरेका हुन् ।
खेलमा इन्टरले सुरुआती अग्रता बनाएको थियो । खेलको पाँचौं मिनेटमा इन्टरले पेनाल्टीको मौका पाएको थियो । सेभिल्लाका डिएगो कार्लोसले लुकाकुलाई डी एरियामै लडाएपछि इन्टरले पेनाल्टीको अवसर पाएको थियो । जसमा, लुकाकुले गोल गर्दै इन्टरलाई सुरुआती अग्रता दिलाए । बेल्जियन स्टार लुकाकुले जारी सिजनको ३४औं गोल गरे ।
खेलको १२औं मिनेटमा डी योङले गोल गर्दै सेभिल्लालाई बराबरीमा फर्काए । यस्तै खेलको ३३औं मिनेटमा डी योङले दोस्रो गोल गर्दै सेभिल्लालाई अग्रता दिलाए । डी योङले दुवै गोल हेडिङमार्फत गरेका थिए ।
खेलको ३५औं मिनेटमा गोडिनले गोल गदै इन्टरलाई बराबरीमा फर्काए । खेलको ७४औं मिनेटमा लुकाकुले आत्मघाती गोल गरेपछि सेभिल्लाले ३–२ गोलको जित निकाल्दै छैटौं पटक युरोपा लिगको उपाधि जितेको हो ।

