झापा, असोज ८ । झापामा बिहीबार सम्ममा कुल कोरोना संक्रमितको संख्या ८२२ पुगेको छ । बिहीबार थप ४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भए संगै यो संख्या पुगेको हो ।
स्वास्थ्य कार्यालय झापाका अनुसार भद्रपुर नगरपालिका वार्ड नं ९ का ५० बर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो।
कार्यालयका कोरोना फोकल पर्सन जीवन चौंलागाईंका अनुसार कनकाई नगरपालिकाका ३० र ४८ बर्षिय पुरुषमा संक्रमण पुष्टि भएको छ। एक जना विर्तामोड वार्ड नं ५ ठेगाना भएका र अर्का कनकाई वार्ड नं २ ठेगाना भएका पुरुषमा संक्रमण देखिएको हो।
बिहीबार बिहान आफ्नै घरमा मृत्यु भएका झापाका गाउँपालिका वार्ड नं ६ का एक जना बृद्धमा पनि कोरोना संक्रमण पुष्टि भएको छ।
ज्वरो आएपछि पनि उपचार नगराइ घरमै बसेका झापाका एक ७८ बर्षिय कोरोना भाइरस संक्रमित बृद्धको मृत्यु भएको हो।
सास फर्न गाह्रो भएपछि उनको स्वाब संकलन गरि परीक्षणमा पठाइएको चौंलागाईंले बताए। रिपोर्ट नआइ बिहीबार बिहान उनको मृत्यु भएको चौंलागाईंले जानकारी दिए।
उनको रिपोर्ट भने केही बेर अघि मात्र आएको हो। उनको रिपोर्टमा कोरोना पोजिटिभ देखिएको छ।
झापामा हालसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ६ पुगेको छ।

