काठमाडौं, असोज १४ । मन्त्रिपरिषद् पुनर्गठन गर्न सत्तारूढ दल नेकपाका दुई अध्यक्ष लगातार छलफलमा बसे पनि मापदण्डको टुंगो लागेको छैन।
अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड बीच बिहीबारयता भेटवार्ता भइरहे पनि कस्तो मापदण्ड अपनाउने भनेर निष्कर्षमा नपुगेको नेताहरूको भनाइ छ। त्यही कारण मंगलबार पनि सहमति जुट्न सकेन। ओली पक्षका एक स्थायी समिति सदस्यले दिनहुँको छलफल सकारात्मक भए पनि परिणाम भने शून्यको अवस्थामा रहेको बताए।
प्रधानमन्त्री ओलीले रिक्त रहेका र टुक्र्याइने तीन मन्त्रालयमा मात्र नयाँ मन्त्री नियुक्त गरेर जाने विधिको कुरा गरिरहेका छन्। अर्का अध्यक्ष दाहालले भने केही अपवादका बाहेक व्यापकतामा मन्त्रीहरूको पुनर्गठनको प्रस्ताव राखेका छन्।
‘समग्रमा गर्ने कि अलिकति भन्नेमा दुई अध्यक्षबीच कुराकानी भइरहेको छ। प्रधानमन्त्री अलिकति गरौं भन्नुहुन्छ, प्रचण्ड (दाहाल) ले समग्रमा गरौं भनिरहनुभएको छ’, सचिवालयका एक सदस्यले भने, ‘केही मिलेको छैन। त्यसमै दिनहुँ छलफल जारी छ।’ आजको अन्नपूर्ण पोस्टमा समाचार छ

