खेलकुद

आईपीएल: मुम्बई ईण्डियन्स शीर्ष स्थानमा

काठमाडौं, असोज २१ । साविक विजेता मुम्बई ईण्डियन्स पुन ईण्डियन प्रिमियर लिग क्रिकेट आईपीएलको शीर्ष स्थानमा पुगेको छ । लिगको २० औ खेलमा गएराती राजस्थान रोयल्सलाई ५७ रनले हराउदै मुम्बईले सिजनको चौथो जित हात पारेको हो ।

मुम्बईले दिएको १ सय ९४ रनको लक्ष्य पछ्याउने क्रममा राजस्थान १८ दशमलब १ ओरभमा १ सय ३६ रनमा अलआउट भएको थियो । जस बटलरले ७०, जोफ्रा आर्चरले २४ र टम कुरानले १५ रन बनाए । अन्यले गतिलो ब्याटिङ गर्न सकेनन् । मुम्बईका जसप्रित बुमराहले ४ तथा ट्रेन्ट बोउल्ट र जेम्स पिटन्सनले समान २ तथा राहुल चहार र कायरन पोलार्डले समान एक विकेट लिए ।

यसअघि आबुदाबीस्थित शेख जेयाद अन्तराष्ट्रिय क्रिकेट मैदानमा पहिले ब्याटिङमा उत्रिएको मुम्बईले ४ विकेट गुमाएर १ सय ९३ रनको उच्च योगफल तयार पारेको थियो । उसको जितमा अबिजित रहदै सुर्यकुमार यादवले ७९ र हार्दिक पाण्डेया ३० रनको योगदान गरे । रोहित शर्माले ३५ र क्वीन्टन डि ककले २३ रन जोडे ।

राजस्थानका श्रेयस गोपालले २ तथा जोफ्रा आर्चर र कार्तिक त्यागीले एक एक विकेट लिए । आईपीएल क्रिकेटमा आज चेन्नई सुपर किंग्स र कोलकत्ता नाईट राईडर्स आमने सामने हुनेछन् ।