काठमाडौं, असोज २४ । ईण्डियन प्रिमियर लिग क्रिकेट आईपीएलको पछिल्लो खेलमा दिल्ली क्यापिटल्स विजयी भएको छ ।
सिजनको पाँचौ जित निकाल्ने क्रममा गएराती उसले राजस्थान रोयल्सलाई ४६ रनले स्तब्ध पार्यो । यो जितसंगै ६ खेलबाट १० अंक जोडेको दिल्ली पुन तालिकाको शीर्ष स्थानमा फर्किएको छ । समान खेलबाट दिल्लीले मुम्बईलाई स्पष्ट २ अंकले पछि पार्दै शीर्ष स्थानमा पुगेको हो ।
दिल्लीले प्रस्तुत गरेको १ सय ८५ रनको उच्च चुनौती पछ्याएको राजस्थान २ बल अगावै १ सय ३८ रनमा समेटियो । राहुल टेवाटियाले ३८, यस्हान्वी जैसवालले ३४ र कीतान स्टेभन स्मिथले २४ रन बनाएपनि टोलीलाई लक्ष्यसम्म पुर्याउन सकेनन् । जस बटलरले १३ रन जोडे । अन्यले दोहोरो अंकको स्कोर छुन सकेनन् । दिल्लीका कासीगो रावाडाले ३ तथा रबिचन्द्र आश्विन र मार्कुस स्टोईनिसले समान २ विकेट लिए । अक्सर पटेल, हर्षल पटेल र एनरिच नोर्टजेले समान एक विकेट लिए ।
यसअघि सारजाह अन्तराष्ट्रिय क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको दिल्लीले ८ विकेट गुमाएर १ सय ८४ रनको उच्च योगफल तयार पारेको थियो । उसको जितमा सिमरोन हेटमेरले ४५, मार्कुस स्टोईनिसले ३९ र कप्तान श्रेयस ऐरले २२ रनको योगदान गरे । पृथ्वी शँले १९, अक्सर पटेलले १७ र हर्षल पटेलले १६ रन बनाए । राजस्थानका जोफ्रा आर्चरले ३ तथा कार्तिक त्यागी, एन्ड्रयु टे र राहुल टेवाटियाले समान एक विकेट लिए । दिल्लीका २ ब्याट्सम्यान रनआउट भएका थिए ।
आईपीएल क्रिकेटमा आज २ खेल हुदैछन् । आजको पहिलो खेलमा दिउँसो पौने ४ बजे किंग्स एलाभेन पञ्जाव र कोलकत्ता नाईट राईडर्स प्रतिस्पर्धा गर्नेछन् । दोस्रो खेलमा राती पौने ८ बजे चेन्नई सुपर किंग्स र रोयल च्यालेन्जर्स बैङलोर प्रतिस्पर्धा गर्नेछन् ।

