खेलकुद

सोलुखुम्वु बन्यो दोस्रो प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिताको च्याम्पियन

मेचीनगर, पुस २५ । प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिताको उपाधि सोलुखुम्वुले जितेको छ । शनिबार सम्पन्न मेन्स डबलतर्फ फाइनलमा पाँचथरलाई १४/२१, २१/१९ र २१/१९ सेटमा पराजित गर्दै सोलुखुम्वुले उपाधि जितेको हो ।

उपाधिसंगै सोलुखुम्वुले नगद रु ५० हजार हात पारेको छ । उपविजेता बनेको पाँचथरले ३१ हजार हात पारेको छ ।

तेस्रो स्थान हासिल गरेको धरानले नगद रु २० हजार हात पारेको छ । विजेता टिमले नगदसहित ट्रफि, मेडल तथा प्रमाण पत्र प्राप्त गरेका छन् ।

त्यस्तै भेट्रानतर्फको उपाधि खोटाङले जितेको छ । खोटाङले झापालाई २३/२१, २१/१५ को सो सेटमा पराजित गर्दै उपाधि जितेको हो ।

विजेता बनेको खोटाङले नगद रु २५ हजार प्राप्त गर्दा उपविजेता बनेकोे झापाले नगद रु १५ हजार प्राप्त गरेको छ । तेस्रो स्थान हासिल गरेको मोरङले नगद रु १० हजार प्राप्त गरेको छ ।

विजेतालाई प्रमुख अतिथि प्रदेश सांसद गोपालचन्द्र बुडाथोकी, बिशेष अतिथि नेपाल ब्याडमिन्टन संघका केन्द्रिय अध्यक्ष रामजी बावु श्रेष्ठ लगायतले पुरस्कार वितरण गरे ।

मेची ब्याडमिन्टन क्लब काँकरभिट्टाको आयोजनामा ३ दिनसम्म चलेको प्रतियोगितामा प्रदेश भरबाट १४ टिमको सहभागीता रहेको थियो ।

पुरस्कार वितरण तथा समापन समारोहमा प्रमुख अतिथि प्रदेश सासंद बुडाथोकी, बिशेष अतिथि नेपाल ब्याडमिन्टन संघका केन्द्रिय अध्यक्ष श्रेष्ठ, लगायतले मन्तब्य राखेका थिए ।

क्लबका अध्यक्ष एवं खेल संयोजक हरिकुमार तिम्सिनाको अध्यक्षतामा सम्पन्न समापन समारोहको सञ्चालन प्रकाश दाहालले गरेका थिए ।