मेचीनगर, पुस २५ । संसद विघटनका विरुद्धमा नेपाली कांग्रेस झापा क्षेत्र नम्बर १ प्रदेश सभा ‘क’ को आयोजनामा आज काँकरभिट्टामा विरोध प्रदर्शन भएको छ ।
जुटौँ संसद विघटनको असंवैधानिक कदमका विरुध्दमा, उठौँ लोकतान्त्रिक संविधान रक्षाका पक्षमा भन्दै कांग्रेसका नेता, कार्यकर्ता र युवाहरुले शनिबार काँकरभिट्टा बजारमा जुलुस प्रदर्शन गरेका हुन् ।
कांग्रेस झापा क्षेत्र नम्बर १ प्रदेश सभा ‘क’ का सभापति हर्क फ्याक लिम्बुको अध्यक्षतामा सम्पन्न विरोध कार्यक्रममा प्रमुख अतिथि कांग्रेसका केन्द्रिय सदस्य केशवकुमार बुढाथोकी, संविधान सभा सदस्य उषा गुरुङ, कांग्रेस झापाका कोषाध्यक्ष केशवराज पाण्डे लगायतले सरकारलाई असंवैधानिक कदम सच्चाउन माग गरेका थिए ।
कांग्रेस प्रदेश सभा ‘क’ का उपसभापति हिम्मत क्षेत्रीले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव बद्री खड्काले गरेका थिए ।

