बाहुण्डाँगी, २७ पुस । भलवारी जेसिजको अध्यक्षमा राम प्रसाद भण्डारी निर्वाचित हुनुभएको छ । सोमबार सम्पन्न शाखाको अठारौं वार्षिक साधारणसभा तथा सत्रौं शाखा अधिवेशनबाट वर्ष २०२१ को लागि भण्डारी निर्वाचित हुनुभएको हो ।
संचालक समितिको कार्यकारिणी उपाध्यक्ष पदमा निरज पुन र विजय शाही निर्वाचित हुनुभएको छ भने उपाध्यक्षमा लक्ष्मण खनाल, किशन डुम्रे, भुवन नेपाल, कमल पराजुली हुनुभएको छ ।
त्यसैगरी सहसचिवमा अन्जली पौडेल एवम् सहकोषाध्यक्षमा पुकार केसी निर्विरोध निर्वाचित हुनुभएको प्रमुख निर्वाचन आयुक्त सुरज अर्यालले बताउनुभयो । कानुनी सल्लाहकार, महासचिव, कोषाध्यक्ष लगायतका मनोनीत पदहरुमा पद हस्तान्तरणको समयमा अध्यक्षले मनोनयन गर्नुहुनेछ ।
कार्यक्रमको उद्दघाटन सत्रमा तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष गुणनिधी भण्डारी माधवले भलवारी जेसिजसंग आफू सहकार्य गर्न इच्छुक रहेको बताउनुभयो ।
कार्यक्रममा भलवारी जेसिजका पुर्व अध्यक्ष प्रकाश पोखरेल, प्रस्तावित तिनाउ जेसिजका अध्यक्ष विदुर पौडेलले मन्तव्य राख्नु भएको थियो । भलवारी जेसिजका अध्यक्ष चिरिन्जिवी बस्यालको सभापतित्वमा सम्पन्न उदघाटन सत्रको कार्यक्रम संचालन महासचिव अमृत गुरुङले गर्नुभएको थियो ।
कार्यक्रमको बन्द सत्रमा शाखाका बर्ष २०२० का अध्यक्ष चिरञ्जीवी बस्याल, महासचिव अमृत गुरुङ र कोषाध्यक्ष विजय शाहीले राखेको वार्षिक प्रतिवेदन एवम् ४७ औं राष्ट्रिय महाधिवेशन बारे प्रस्तुत प्रतिवेदन सर्वसहमतीले पारित भएको थियो ।
निर्वाचन प्रक्रियाको नेतृत्व भलवारी जेसिजका निवर्तमान अध्यक्ष सुरज अर्यालले गर्नुभएको थियो । जेसिज मुल्यमान्यता, उम्मेदवारहरुले पालना गर्नुपर्ने नियम एवम् ध्यान दिनुपर्ने कुराहरु बारेको उम्मेदवार प्रशिक्षण तालिम प्रशिक्षक मुक्तिनाथ गैह्रेले दिनुभएको थियो ।

