
झापा, चैत २८ । झापा जिल्लाबाट १ नम्बर प्रदेशको प्रतिनिधित्व गर्दै आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता–२०७५ मा सहभागी हुन जाने महिला हक्की खेलाडीलाई काँकरभिट्टामा बिहिबार एक कार्यक्रम बिच बिदाई गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि मेची भन्सार प्रमुख टेकबहादुर अर्याल, विशेष अतिथि मेचीनगर वडा नम्बर ६ का वडा अध्यक्ष ललित तामाङ्गलगायतले सहभागी खेलाडीलाई उच्च मनोवलका साथ प्रतियोगितामा सहभागी भई सफलता हासिल गर्दै प्रदेशको नाम राख्न अग्रिम शुभकामना दिएका थिए ।

मेची भन्सार अधिकृतद्घय किरण शर्मा र मनोज विक, मेची खाद्यय आयत निर्यात अधिकृत सुधाकर प्रसाद सिंह, ईलाका प्रहरी कार्यालय काँकरभिट्टका प्रहरी निरिक्षक कोमल ठाकुर, सशस्त्र प्रहरी बल राजस्व एवं भन्सार गुल्म काँकरभिट्टाका प्रहरी निरिक्षक चिरञ्जीवी प्रसाई, मेचीनगर वडा नम्बर ६ का वडा सदस्य साबित्रा लुव्हागुन, मेचीनगर कार्यापालिका सदस्य लक्ष्मी थिंक, स्काउट आयुक्त भुवन सुब्बालगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा पत्रकार, विभिन्न खेल विधाका प्रशिक्षक, खेलाडीलगायतको उपस्थिती रहेको थियो ।

५ नम्बर प्रदेशको नेपालगञ्जमा बैशाख १ गते देखी ७ गते सम्म आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत राष्ट्रिय हक्की प्रतियोगितामा झापा बाट १८ जना महिला खेलाडीले सहभागी जनाउने हक्की प्रशिक्षक ज्ञानेन्द्र बहादुर खड्काले बताए ।
झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शंकर थापाको अध्यक्षतामा आयोजना भएको कार्यक्रम सञ्चालन कार्यालय प्रमुख टहलदाश मैनालीले गरेका थिए ।

