काठमाडौं, फागुन २४ । इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको म्यानचेस्टर सिटी घरेलु मैदानमै पराजित भएको छ ।
आइतबार राति भएको म्यानचेस्टर डर्बी भिडन्तमा सिटी म्यानचेस्टर युनाईटेडसँग २-० गोल अन्तरले पराजित भएको हो । सिटीको मैदानमा युनाईटेडलाई जित दिलाउन ब्रुनो फर्नान्डेस र लुक शले एक एक गोल गरे ।
इतिहाद स्टेडियममा खेलको दोस्रो मिनेटमै युनाईटेडले फर्नान्डेसको पेनाल्टी गोलबाट अग्रता बनाएको थियो । सिटीका ग्राबियल जिससले एन्थोनी मार्सियललाई पेनाल्टी क्षेत्रमा फउल गरेपछि युनाईटेडले पेनाल्टी पाएको थियो ।
त्यसपछि खेलको ५० औं मिनेटमा लुक शले गोल गर्दै युनाईटेडलाई २-० को जित दिलाए । यस जितसँगै ओले गुनर सोल्सायर सिटीविरुद्ध तीन अवे खेलमा जित निकाल्ने युनाईटेडका पहिलो प्रशिक्षक बनेका छन् ।
जितसँगै युनाईटेड लिगको दोस्रो स्थानमा उक्लिएको छ । युनाईटेडले २८ खेलमा ५४ अंक जोडेको छ । युनाईटेडसँगको हारसंगै सिटीको २१ खेलको अपराजित यात्रा टुंगिएको छ ।
सिटी २८ खेलमा ६५ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । सिटी अझै युनाईटेड भन्दा ११ अंकले अघि रहेको छ ।

