विविध

चोरीका २२ वटा मोटरसाइकल पक्राउ

नरेन इलामेली
इलाम, फागुन २३ ।
जिल्ला प्रहरी कार्यालय इलामले चोरीका मोटरसाइकलहरु खोजतलास गर्ने क्रममा २२ वटा मोटरसाइकलहरु पक्राउ गरेको छ । विभिन्न कम्पनीका २० वटा मोटरसाइकलहरु तराईका विभिन्न जिल्लाबाट चोरी गरि ल्याई इलामका विभिन्न ग्रामीण भेगहरुमा चलाइरहेको अवस्थामा प्रहरीले फेला पारि पक्राउ गरेको हो ।

इलामको सन्दकपुर गाउँपालिकाको माबु, जमुना, बन्दुके, फाकफोकथुम गाउँपालिकाको एकतप्पा, आमचोक, माइ नगरपालिकाको दानाबारी, महमाई र चुलाचुली गाउँपालिका क्षेत्रबाट उक्त मोटरसाइकलहरु पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ गरिएका २० वटा मोटरसाइकलहरु मध्ये ११ वटा आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय झापा पठाइएको छ भने ५ वटा भन्सार कार्यालय पशुपतिनगर पठाइएको छ । त्यसै गरी २ वटा मोटरसाइकलहरु सम्बन्धित धनीलाई जिम्मा लगाइएको छ भने २ वटा जिल्ला प्रहरी कार्यालय इलाममा राखी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

त्यसै गरि प्रहरी चौकी पेल्टिमारी इलामबाट समेत २ वटा चोरीका मोटरसाइकलहरु पक्राउ गरी सम्बन्धित मोटरसाइकल धनीलाई बुझाइएको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक लालध्वज सुवेदीले जानकारी दिए ।