मेचीनगर, चैत ३ । झापाको मेचीनगर ६ स्थित काँकडभिट्टामा जारी प्रथम उपमेयर कप टी–ट्वान्टी महिला क्रिकेट प्रतियोगिता २०७७ को उपाधि मिलन क्रिकेट क्लब प्रदेश नं १ ले जितेको छ ।
पाच दिवशिय प्रतियोगितामा आयोजक मिलन क्रिकेट क्लबले ५ वटै खेल जित्दै सुदूरपश्चिम महिला क्रिकेट क्लबलाई पराजित गरेको हो ।

प्रतियोगिताका विजेता तथा उपविजेता टिमलाई मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्य, उपप्रमुख मीना उप्रेती पोखरेल, मेचीनगर खेलकुद विकास समिति संयोजक एवम् मेचीनगर–४ का वडाध्यक्ष नविन बराल, आयोजक मिलन क्रिकेट क्लबका अध्यक्ष बिरु श्रेष्ठ, अरुणोदय आवसिय माविका अध्यक्ष भगिरथ राई, प्रिन्सिपल दुर्गाबहादुर लुईटेललगायतले प्रमाणपत्र सहित ट्रफी र मेडल प्रदान गर्नु भयो ।

प्रतियोगिता अवधीभरमा २४२ रन जोड्दै उत्कृष्ट व्याट्सम्यान घोषित भएकी विजेता टिमकी रुविना क्षेत्रिले नगद पाँच हजारसहित ट्रफि प्राप्त गर्नु भयो ।
त्यसैगरी ७ विकेट लिन सफल विजेता टिमकी एलिसा खडिया उत्कृष्ट बलर घोषित हुँदैं नगद पाँच हजार सहित ट्रफि प्राप्त गर्न सफल हुनुभयो ।

प्रतियोगितामा २४२ रन जोड्दै ४ विकेट लिन सफल रुविना क्षेत्रि प्लेयर अफ द सिरिज घोषित हुनु भयो । क्षेत्रिले नगद दश हजार सहित ट्रफि प्राप्त गर्नु भयो ।
मेचीनगर नगरपालिकाको आर्थिक संयोजन तथा मिलन क्रिकेट क्लबको आयोजनामा सञ्चालन भएको प्रतियोगितामा राष्ट्रिय महिला क्रिकेट टिमका सदस्यहरूले खेलेका थिए ।




