समाचार

दिलिप सुब्बाको सचिव पदमा तेस्रो पटक उम्मेदवारी

देबु बानियाँ
मेचीनगर, १७ चैत ।
काँकरभिट्टा खानेपानी तथा उपभोक्ता समूहको निर्वाचनमा मेचीनगर ५ का दिलिप सुब्बाको यो पटक पनि सचिव पदमा उम्मेदवारी रहेको छ । यो सँगै उहाँको तेस्रो उम्मेदवारी हो । यस अघि भएका निर्वाचनमा दुई पटक पराजित हुनु भएका सुब्बाले अन्तिम पटक भन्दै सचिवमै उम्मेदवारी दिनु भएको छ ।

संघीय समाजवादीबाट प्रतिनिधित्व गर्दै तत्कालिन नेकपा एमालेसँगको गठबन्धनमा कांग्रेस गठबन्धनका ज्ञानेन्द्र घिमिरेसँग एक मतको झिनो अन्तरले पराजित हुनु भयो । यसैगरी दोस्रो पटक कांग्रेस गठबन्धनसँग संघीयबाटै प्रतिनिधित्व गर्नु भएका सुब्बा नेकपाका राजकुमार पराजुलीसँग पराजित हुुनु भयो ।

यसरी पटक पटक पराजित हुँदा पनि निरन्तर संस्थासँगै जोडिएर काम गर्दै आउनु भएका सुब्बा यो पटक कांग्रेस, माओवादी केन्द्र र जनता समाववादी पार्टीको सयुक्त गठबन्धनबाट उम्मेदवारी दिनु भएको छ ।

‘यो मेरो अन्तिम तथा निर्णायक उम्मेदवारी हो’ सुब्बाले भन्नु भयो–‘त्यससमयमा मतदाताको मन जिते पनि मत जित्न सकिन तर, यो पटक मन र मत दुबै जित्नेछु । पक्कै पनि संस्थाप्रतिको लगावलाई मतदाताले मुल्याङकन गर्नु हुनेछ’


कुनै समय अहिलेको खानेपानी संस्था तीन वटा थिए । काँकरभिट्टा, इटाभट्टा र अँधेरी । जुन समयमा अँधेरी खानेपानीको नेतृत्व सुब्बाले गरिरहुन भएको थियो । तर, अँधेरी खानेपानीको संरचना भनेको घेराबारमा मात्र थियो । काँकरभिट्टालाई साना शहरी आयोजनाले ३४ करोडको बजेटमा खानेपानी विस्तार गर्ने योजना परेपछि आफ्नो क्षेत्रमा भएका इटाभट्टा र अँधेरीलाई समायोजन हुन प्रस्ताव आयो । तर, त्यो समायोजन सहज थिएन । समायोजन गर्ने तयारी गरेपछि संस्थापक अध्यक्ष ज्योति पाठकको समितिलाई विगठन गरेर सुब्बाकै नेतृत्वमा अँधेरीमा आम भेला राखियो । विभिन्न समयको छलफल र भेलाबाट समायोजना हुने सहमत भए । तर, यता इटाभट्टा भने आफ्नै पहिचानमा पानी वितरण गर्ने योजना राखेको थियो ।

त्यस संस्थालाई पनि समायोजन गर्ने भूमिकामा सुब्बाले अग्रभागमा रहेर काम गर्नु भयो । इटाभट्टाका अध्यक्ष पुष्पराज पौडेलको नेतृत्वमा रहेको यो संस्था पनि अन्तत ः समायोजना हुने निर्णयमा पुग्यो । काँकरभिट्टाका तत्कालिन अध्यक्ष गोपाल तामाङको कार्यकालमा काँकरकरभिट्टा खानेपानीमा यी तिनै वटा संस्था समायोजन भए । समायोजन भएको एक वर्षमा अँधेरीमा ओभरहेड ट्याङकीको निर्माणसहित घर घरमा खानेपानी वितरण हुन थाल्यो । यस क्षेत्रको वर्षाैदेखिको पानीको समस्या हल भयो । साविकको मेचीनगरभित्र मात्रै खानेपानी वितरण गर्दै आएको यस संस्थाले सुर्यप्रकाश उप्रेतीको कार्यकालमा साविकको बाहुण्डाँगी ३ को दोकानडाँडा क्षेत्रमा पनि पानी विस्तार भयो । जुन समयमा यस क्षेत्रमा पानी ल्याउनका लागि सुब्बाले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

जुन क्षेत्रका उपभोक्ताले अहिले पनि त्यस बेला सुब्बाले गर्नु भएको नेतृत्वदायी भूमिकालाई प्रशंसा गर्दै आएका छन् । त्यस समयमा यहाँकै उपभोक्ताको माग अुनसार सुब्बालाई सचिवमा उम्मेदवारी दिन लगाइएको थियो । सचिव पदमा उपविजेता भए पनि संस्थाका विभिन्न उपसमितिमा रहेर निरन्तर काम गर्ने अवसर प्राप्त गर्दै आउनु भयो । वर्तमान हर्क फ्याकको नेतृत्वमा रहेको समितिको वातावरण तथा सरसफाइ उपसमितिको संयोजक सुब्बा हुनुहुन्छ ।

सुब्बाले उम्मेदवारको क्षेत्रमा मतदाता कम र काँकरभिट्टा क्षेत्रकै प्रतिस्पर्धी भएकाले यस अघि पराजय हुँदै आएको बताउनु भयो । उहाँ भन्नु हुन्छ – ‘तीन पटकमा त राँगा पनि छिन्छ । यो पटक सबैको उत्साहपूर्वक आश्वसान पाएका छु ।’

को हुन् सुब्बा ?

मेचीनगर ५ अँधेरी निवासी सुब्बा सामाजिक क्षेत्रमा क्रियाशिल व्यक्तिका रुपमा परिचित नाम हो । ४७ वर्ष अघि बुबा विष्णुकुमार लिम्बू र आमा शिवमाया लिम्बूका जेठा छोराका रुपमा पाँचथरमा जन्मनु भएका सब्बाका एक श्रीमती सीता र एक छोरा रिदम रहेका छन् । सीता लावती ताप्लेजुङको आठआई त्रिवणी गाउँपालिकाको शिक्षा अधिकृतका रुपमा कार्यरत हुनुहुन्छ । दिवंगत भइसक्नु भएका बुबा विष्णुकुमार पनि नेपाल सरकारका सेवा निवृत्त कर्मचारी हुन् । विज्ञान विषयमा विएस्सी तथा विएड उतीर्ण सुब्बाले पाँचथर जिल्लाको महेन्द्रोदय माविमा ५ वर्षसम्म विज्ञान शिक्षकको रुपमा काम गर्नु भयो । त्यसपछि जागिरलाई छोडेर समाजसेवामा आफुलाई अग्रसर गराउनु भयो ।


सरकारी जागिरबाट राजिनामा दिएर सामाजिक क्षेत्रमा काम गर्न आउनु भएका सुब्बाले आधा दर्जन बढी संघ संस्थाको कुशल नेतृत्व गरिसक्नु भएको छ । काँकरभिट्टा बहुमुखी क्याम्पसको वर्तमान सञ्चालक समिति सदस्य, किराँत याक्थुङ चुम्लुङको वर्तमान जिल्ला सदस्य, सुरेन्द्रनगर चिया सहकारीको अध्यक्ष (हाल एनएमसीमा समायोजन), बालकल्याण माविको पूर्व अध्यक्ष, किराँत याक्थुङ चुम्लुङ मेचीनगरको पूर्व अध्यक्ष, तत्कालिन संघीय समाजवादवी पाटी (हाल जसपा) को संस्थापक झापा जिल्ला सचिव, प्रकृति संरक्षण समाज बाहुण्डाँगीको संस्थापक प्रवक्ता रहेर कुशल नेतृत्व गरिसक्नु भएको छ ।

शालिन, सरल र भद्र स्वभावका सुब्बा कम बोल्ने तर ओजपूर्ण कुरा गर्नु हुन्छ । हरेक युवाहरुलाई उत्प्रेरणाका साथ अघि बढ्न उत्प्रेरित गर्ने सुब्बाले युवाहरुले अवसर पाए भने मात्र समाजले परिवर्तन गर्ने बताउनु भयो ।