खेलकुद

२० वर्षयता जर्मनीको पहिलो हार !

काठमाडौं, चैत १९ । सन् २०२२ मा हुने फिफा विश्वकप छनोटअन्तर्गत जर्मनी स्तब्ध भएको छ । बुधबार राति युरोपियन छनोटतर्फ जर्मनी आफ्नै मैदानमा नर्थ म्याकडोनियासँग २–१ गोलले पराजित भएको हो ।

जर्मनीस्थित एमसिभी एरिनामा भएको खेलमा म्याकडोनियालाई जिताउन गोरन पान्डेभ र इलिफ इल्मासले समान एक–एक गोल गरे । जर्मनीका इल्के गुन्डोगानले एक गोल गरे ।

पहिलो हाफको इन्ज्युरी समयमा पान्डेभले गोल गर्दै म्याकडोनियालाई सुरुआती अग्रता दिलाएका थिए । ६३औँ मिनेटमा गुन्डोगानले पेनाल्टीमा गोल गर्दै जर्मनीलाई बराबरीमा फर्काए ।

८५औँ मिनेटमा इल्मासले गोल गर्दै म्याकडोनियालाई २–१ गोलले जिताए ।

यससँगै जर्मनीले सन् २००१ पछि पहिलो पटक विश्वकप छनोट खेलमा पराजय ब्यहोरेको छ ।

यता, जितसँगै म्याकडोनियाले जर्मनीलाई उछिन्दै दोस्रो स्थान कब्जा गरेको छ । उसले तीन खेलमा छ अङ्क जोडेको छ । समान अङ्क भएको जर्मनी गोलान्तरको आधारमा पछि रहँदै तेस्रो स्थानमा छ ।