नवराज सुबेदी
झापा, चैत ३१ । मेचीनगरको उत्तरी क्षेत्रका बासिन्दाले हात्तीको समस्या बर्षैदेखि झेल्दै आएका छन् । यस बर्षपनि बिगत केहि दिन देखि जंगली हात्तीले कृषकले लगाएका मकैबाली खाएर तथा कुल्चिएर सखाप पारेपछि किसान यतिखेर चिन्तित देखिएका छन् ।
मेचीनगर ३ दोकानडाँडाका हर्क बहादुर भट्टराईले १२ कट्ठा भन्दा धेरै जग्गामा मकै लगाउनुभएको छ । बर्षभरि खाने अन्नका रुपमा उहाँले लगाउनुभएको मकै विगत केहिदिन देखि लगातार आएको जंगली हात्तीले सखाप बनाइदिएको छ ।

यो समस्या उहाँको मात्र होइन, यस क्षेत्रमा अन्य पनि थुप्रै किसानले मकै लगाउनुभएको छ । सबैको समस्या उस्तै नै छ, घोगा लागिसकेको मकै सबै हात्तीले सखाप बनाउँदा जंगली हात्तीबाट मकै कसरी जोगाउने किसान आफैँ नै अन्योलमा छन् ।
५ कट्ठा जमिनमा मकै लगाउनुभएकी दोकानडाँडाकै स्थानीय रेनुका खत्रिको मकै बाली पनि हात्तीले नष्ट गरेको छ । हात्ती आउने क्रम बढेपछि यस क्षेत्रका युवाहरु ५० ६० जनाको समुह निर्माण गरेर रातभरि खेतबारी मै बस्ने गरेका छन् ।

बेलुकिको खाना खाएपछि खेतबारीमा जानुपर्ने आफुहरुको दैनिकि जस्तै बनेको स्थानीय युवा छत्र बानिँयाले बताउनुभयो । बेलुका ८ बजेबाट नै मकैबारीमा हात्ती आउन थालेपछि उनिहरु खेतबारीमा जान थालेका हुन् ।
हात्तीले मकै खाने मात्र गरेको छैन । बारीमा पसेर मकैको बोट माडेर सोतर जस्तै बनाउने पनि गरेको स्थानीय पुर्ण बहादुर बिष्ठले बताउनुभयो । बर्षभरि खाने उद्देष्य राखेर मुख्य अन्नका रुपमा किसानले लगाएको बाली जंगली हात्तीले यसरी दैनिक नष्ट गर्ने क्रम बढिरहँदा यसको सामाधान कसरी गर्ने किसान अन्यौलमा छन् ।

बर्षौदेखि हात्तीको समस्या झेल्दै आएका स्थानीयले हात्ती समस्या सामधानका लागि पहल गरिदिन स्थानीय सरकारसगँ माग पनि गरेका छन् ।

