झापा, माघ २ । मेचिनगर ७ इटाभट्टा स्थित समाज सेवा सुधार युवा संघ, अपाङ्ग सहयोग समितिलाई बिहीबार जाडोका लागि आवश्यक कपडा (ट्रयाक सुट) प्रदान गरिएको छ ।
बिहीबार आयोजित एक कार्यक्रमकाबीच समितिमा आश्रित फरक क्षमताका (अपाङ्गता) २० जना बालबालिकालाई ट्रयाक सुट वितरण गरिएको हो ।
समितिको भवनमा आयोजित कार्यक्रममा नेपाली काँग्रेसका मेचीनगर सभापति इन्द्रबहादुर बुढाथोकीले समितिका अध्यक्ष धर्मराज घिमिरेलाई ती सामग्री हस्तान्तरण गरेका थिए ।
हाल अमेरिकाको क्यालिफोर्नियास्थित आर्टिसामा बस्दै आएकी मेचीनगर १२ की ममता बुढाथोकीले करिब २० हजार रुपैयाँ मूल्य बराबरका ट्रयाक सुटको व्यवस्थापन गरिदिएकी हुन् ।
‘उहाँ (ममता बुढाथोकी) मेरो सहपाठी हुनुहुन्थ्यो’ सो कार्यक्रममा सहभागी नेपाली काँग्रेसका क्षेत्रीय सचिव खड्ग धिमालले भने–‘कुराकानी हुँदा सामाजिक क्षेत्रमा सहयोग गर्छु भन्नुहुन्थ्यो, त्यो अहिले पूरा भयो ।’
सो अवसरमा समितिका अध्यक्ष घिमिरेले आवाशिय विद्यालयलाई विभिन्न क्षेत्रबाट सहयोग प्राप्त हुँदै आएको जानकारी गराउँदै भावी दिनमा पनि सक्दो सयोग गर्न आग्रह गरेका थिए ।
उनले ट्रयाक सुटको जोहो गरिदिने दाता बुढाथोकी र कार्यक्रमको व्यवस्थापन पक्षलाई धन्यवादसहित आभार प्रकट गरेका छन् । सोही कार्यक्रममा मेचीनगर–९ निवासी रमा निरौलाले आवाशिय विद्यालयका विद्यार्थीहरुलाई खाजाका लागि भन्दै बिस्कुट हस्तान्तरण गरेकी थिइन् ।
त्यसक्रममा समितिका उपाध्यक्ष गंगाप्रसाद संग्रौला, काँग्रेसका क्षेत्रीय सदस्य नारायण बस्नेत, चुडामणि भण्डारी, मेचीनगर– ९ का सह सभापति सञ्जय उप्रेती, तरुण दलका क्षेत्रीय सभापति अर्जुन राईलगायतको उपस्थिति थियो ।

