झापा, माघ १ । लिम्बू पत्रकार संघको केन्द्रीय सदस्यमा भूमिका सुब्बा फियाक मनोनित भएकी छिन् । विगत एक दशक देखि झापामा रहेर सक्रिय रुपमा पत्रकारिता क्षेत्रमा आबद्ध रहि कार्य सम्पादन गरिरहेकी उनीलाई सोमबार मोरङको पथरीमा बसेको लिम्बू पत्रकार संघको पुर्ण बैठकले केन्द्रीय समितिमा मनोनित गरेको हो ।
हाल हरप्रहरन्यूजका लागि विर्तामोड क्षेत्रबाट सम्बाददाताको रुपमा कार्यरत फियाक नेपाल आदिवासी जनजाति पत्रकार महासंघ प्रदेश नं. १ को उपाध्यक्ष, खेलकुद पत्रकार संघ झापाको सह–सचिव रहेर समेत काम गर्दै आइरहेकी छिन् ।
बैठकले राम योङहाङलाई कोषाध्यक्षमा, विष्णु सुब्बा आङदेम्बे, दिनेश लिङ्खिम, लोकेश लिवाङ र स्वर्णिमहाङ फोम्बोलाई केन्द्रीय समितिमा मनोनीत गरेको छ ।
त्यस्तै बैठकले लिम्बू पत्रकार संघको तेस्रो राष्ट्रिय महाधिवेशन आगामी फागुन पहिलो साता लिम्बुवान भुमिमा सम्पन्न गर्ने निर्णय गरेको छ ।

महाधिवेशन सम्पन्न गर्न लिम्बू पत्रकार संघका केन्द्रीय अध्यक्ष देवेन्द्र खापुङको अध्यक्षतामा पदाधिकारी, सदस्य र सबै जिल्ला अध्यक्ष सदस्य रहेको मूल आयोजक समिती समेत गठन गरेको छ ।

