काठमाडौं, बैशाख ६ । त्रिकोणात्मक टी–२० सिरिजअन्तर्गत सोमबार भएको खेलमा नेपाल विजयी भएको छ ।
त्रिवि क्रिकेट मैदानमा अाज भएको खेलमा नेपालले मलेसियाविरुद्ध शानदार ९ विकेटको फराकिलो जित हासिल गरेको छ । नेपालले ४७ बल बाँकी रहँदै मलेसियाविरुद्ध जित हासिल गरेको हो ।
मलेसियाले दिएको १ सय १० रनको लक्ष्य नेपालले १ विकेटको क्षतिमा ४७ बल अगावै पूरा गरेको हो । लक्ष्य पछ्याउने क्रममा कुशल भुर्तेल र आसिफ शेखले नेपाललाई आक्रामक सुरुवात दिलाएका थिए ।
भुर्तेल र आसिफले १०२ रनको ओपनिङ साझेदारी गरेका छन् । आसिफ शेखले २९ बलको सामना गर्दै एक छक्का र ४ चौकासहित ४२ रन बनाएका छन् भने भुर्तेलले ६१ रन बनाउन सफल भएका छन् ।
त्यस्तै, दीपेन्द्र सिंह ऐरीले अविजित ६ रन बनाउन सफल भएका छन् ।

