स्वास्थ्य

मेचीनगरमा कार्यरत कर्मचारी निरौलाको कोरोना संक्रमणबाट मृत्यु

मेचीनगर, जेठ ४ । कोरोना संक्रमणबाट नगरपालिकाको विद्युत शाखामा कार्यरत कर्मचारीको मृत्यु भएको छ । संक्रमणबाट महेन्द्र निरौलाको मृत्यु भएको छ ।उनी शाखामा इलेक्ट्रिकल ओभर सियरको रुपमा कार्यरत थिए ।

कोरोना संक्रमण पश्चात भेन्टिलेटरमा रहेर बिर्तामोडको बिएण्डसी अस्पतालमा उपचाररत रहेका उनको मंगलबार विहान ८ः३० बजे चिकित्सकले मृत्यु पुष्टि गरेको नगरपालिका कोभिड संयोजक तथा सामाजिक विकास समिति संयोजक नबिन बरालले बताए ।

मेचीनगर वडा नम्बर ७ निवासी ३५ बर्षीय निरौलामा १२ दिन अघि कोरोना संक्रमण पुष्टि भएको थियो ।

होम आइसोलेसनमै रहेका उनलाई स्वास्थ्यमा समस्या देखिए पछि ९ दिन अघि बिएण्डसी भर्ना गरिएको पारिवारीक श्रोतले जनाएको छ ।

उनीको परिवारमा हजुरबुवा, हजुरआमा, श्रीमती, १ छोरा छन् ।

कोरोना संक्रमित हजुरआमा घरमै आइसोलेसनमा रहनु भएको पारिवारीक श्रोतले जानकारी दिएको छ ।

योसँगै मेचीनगरमा कोरोनाको दोेस्रो लहरको संक्रमण पछि निधन हुनेको संख्या ९ पुगेको छ ।

नगरमा हालसम्म २९१ संक्रमित रहँदा २० जना कोरोेनामुक्त भएका नगरपालिकाको स्वास्थ्य शाखाले जानकारी दिएको छ ।