खेलकुद

मेचीनगर गोल्डकप बैशाख १२ देखी: उद्घाटन खेलमा आयोजकले दाउफिन्सको सामना गर्दै

झापा, बैशाख ०९ । आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरले मेची नेत्रालय मेचीनगर गोल्डकप चौथो सस्करणको उद्घाटन खेलमा बिहिबार क्यमरुनी क्लब दाउफिन्सको सामना गर्ने भएको छ ।

काँकरभिट्टा माविको खेल मैदानमा वैशाख १२ गते १.नं. प्रदेशका सामाजिक विकास मन्त्री जिवन घिमिरेले गोल्डकपको औपचारीक उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

आयोजकले सोमबार काँकरभिट्टामा पत्रकार सम्मेलन गर्दै गोल्डकपमा सहभागी टिम तथा खेल तालिका सार्वजनिक गरेको हो । गोल्डकपमा क्यमरुनी क्लब दाउफिन्स, पारो एफसी भुटान, रुस्लान थ्री स्टार क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, सिएमजी संकटा क्लब, च्यासल युथ क्लब, धरान फुटबल क्लब, माइभ्याली फुटबल क्लब ईलाम र आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरले प्रतिस्पर्धा गर्ने आयोजकले पत्रकार सम्मेलनमा जानकारी दिए ।

गोल्डकपको तयारी अन्तिम चरणमा पुगेको छ, बाकी दुई दिनभित्र सम्पूर्ण तयारी पूरा हुने आयोजक समितिका अध्यक्ष मिनबहादुर बस्नेतले बताए ।

प्रतियोगिता सम्पन्न गर्न करिब ८५ लाख लाग्ने अनुमान रहेको आर्थिक संयोजक गंगालाल गुरुङले बताए । फुटबल प्रेमी दर्शकलाई प्रतियोगितामा ब्यवस्थित रुपमा बसेर हेर्न करिब चार हजार दर्शक अट्ने बाँसको प्यारापिट बनाइएको मैदान मर्मत समितिका संयोजक दिपक कार्कीले जानकारि दिए ।

गेट मनी कम्तिमा २० लाख उठाउने अपेक्षा गरिएको आयोजकले बताए । प्रतियोगिताको चौंथो सस्करण सम्म आई पुग्दा पहिलो पल्ट इ सेवाबाट टिकेटिङको व्यवस्था गरिएको आयोजकका सचिव अशोक राईले जानकारी दिए ।

झापा जिल्ला फुटबल संघको प्राबिधिक सहयोग रहने प्रतियोगिताको सह–आयोजकमा झापा जिल्ला खेलकुद बिकास समिति, काँकरभिट्टा भेट्रान फुटबल क्लब र मेचीनगर खेलकुद समिति रहेका छन् । रमपम तयारि चाउचाउको सह प्रायोजन र मेची नेत्रालयको मुख्य प्रायोजन रहेको गोल्डकपको संरक्षकमा मेचीनगर नगरपालिका रहेको छ ।

कार्यक्रममा मेचीनगर प्रमुख विमल आचार्य, झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शंकर थापा, पूर्वअध्यक्ष डिल्लीराम घिमिरे, मुख्य प्रायोजक मेची नेत्रालयका डा. शरदचन्द्र राईलगायतले गोल्डकपका बारेमा आफ्ना धारणा राख्दै प्रतियोगिता सम्पन्न गर्नका लागि सबैले हातेमालो गर्न आवश्यक रहेको बताए ।

गोल्डकप विजेताले नगद १० लाख १ हजार पाउनेछ भने उपविजेताले नगद ५ लाख १ हजार पाउनेछ । गोल्डकपको उत्कृष्ट खेलाडीले नगद १ लाख १ हजार पाउँदा प्रत्येक खेलको म्यान अफ दी म्याचले ११ हजार नगद पाउनेछ । त्यस्तै, बेस्ट फरवार्ड, बेस्ट मिडफिल्ड, बेस्ट डिफेन्डर्स, बेस्ट कोच, बेस्ट गोलकिपर र राइजिङ प्लेयरले जनही २१ हजार पाउनेछन् ।

Leave a Reply

Your email address will not be published.