मेचीनगर, जेठ १० । अक्सिजनको चरम अभावले कोरोना भाईरसको संक्रमित अकालमै ज्यान गुमाउनु परिरहेको छ ।
अहिलेको बिषम् परिस्थितिमा आफ्नै नगरमा अक्सिजन प्लान्ट बन्ने भएपछि मेचीनगरबासी खुशी भएका छन् । मेचीनगरको धुलावारीस्थित आम्दा मेची हस्पिटलमा अक्सिजन प्लान्ट बन्ने भएपछी नगरका सबैले राहत महसुस गरेका छन् ।
८० लाख रुपैयाँको लागतमा निर्माण हुने अक्सिजन प्लान्टमा रोटरी क्लवको ग्लोबल फन्डले ३५ लाख रुपैयाँ र मेचीनगर नगरपालिकाले २० लाख रुपैयाँ अनुदान दिने छ ।
अपुग रकम मेची उद्योग वाणिज्य संघ, झापामा रहेका रोटरी क्लवहरु र निजी क्षेत्रबाट संकलन गरिने रोटरी क्लव अफ मेचीनगरका अध्यक्ष कपिल क्षेत्रीले जानकारी दिए ।
क्षेत्रीका अनुसार १५ दिनभित्र उपकरण नेपाल ल्याइसक्ने तयारी छ । स्वीडेनबाट उपकरण ल्याउने तयारी छ । प्रति घण्टा ४० सिलिन्डरमा ग्यास भर्न सक्ने क्षमताको दुई वटा मेसिन ल्याइने उनले जानकारी दिए ।
कोरोना सङ्क्रमितको उपचारमा अक्सिजनको हाहाकार भइरहेको अवस्थामा झापामा निजी क्षेत्रसँगको साझेदारीमा पहिलोपल्ट अक्सिजन प्लान्ट स्थापना गर्न लागिएको हो ।
रोटरी क्लव अफ काँकरभिट्टालाई रोटरी इन्टरनेसनलले ग्लोबल फन्डबाट यो अक्सिजन प्लान्ट दिएको हो ।

