झापा, असार १३ । डेनमार्क र इटाली १६ औं संस्करणको युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
शनिबार राति भएको पहिलो प्रि-क्वाटरफाइनलमा वेल्सलाई ४-० गोल अन्तरले पराजित गर्दै डेनमार्क अन्तिम आठमा पुगेको हो ।
नेदरल्यान्ड्सको जोहान क्रुफ एरिनामा डेनमार्कलाई जित दिलाउन युवा स्ट्राइकर कास्पर डोलवर्गले दुई गोल गरे । जोकिम माहेल र मार्टिन ब्रेथवेटले एक एक गोल गरे । यस जितसँगै डेनमार्क जारी युरोकपको क्वाटरफाइनलमा पुग्ने पहिलो टिम बनेको छ । वेल्स भने प्रतियोगिताको अन्तिम १६ बाट बाहिरिएको छ ।
अब डेनमार्कले सेमिफाइनल प्रवेशका लागि नेदरल्यान्ड्स र चेक रिपब्लिकबीचको विजेतासँग खेल्नेछ । यस अघि डेनमार्क समूह ‘बी’ को उपविजेता बन्दै अन्तिम १६ मा पुगेको हो । वेल्स समूह ‘ए’ को उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो ।
त्यस्तै शनिबार राति नै भएको दोस्रो प्रि-क्वाटरफाइनलमा अष्ट्रियालाई अतिरिक्त समयमा २-१ गोल अन्तरले पराजित गर्दै इटाली अन्तिम आठमा पुगेको हो । इंग्ल्यान्डको वेम्बली स्टेडियममा इटालीलाई जित दिलाउन परिवर्तित खेलाडीद्वय फेडरिको चिसा र माटियो पेसिनाले एक एक गोल गरे । अष्ट्रियाका सासा कलाडिज्कले एक गोल फर्काए ।
प्रतिस्पर्धात्मक बनेको खेलको निर्धारित ९० मिनेट गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो । अतिरिक्त समयमा इटालीले दुई गोल गर्यो । अष्ट्रियाले एक गोल फर्कायो ।
यस जितसँगै इटालीले ३१ खेलमा अपराजित रहने टिमको कीर्तिमान समेत बनाएको छ । इटालीले ८२ वर्ष अगाडीको आफ्नै कीर्तिमान भङ्ग गरेको हो । इटालीले १९३५ को अक्टोबर देखि जुलाई १९३९ सम्म ३० खेलमा अपराजित रहेर कीर्तिमान बनाएको थियो । सन् २०१८ सेप्टेम्बरमा यूइएफए नेसन्स लिगको समूह चरणमा पोर्चुगलसँग १–० ले पराजित भएपछि इटालीले हार व्यहोरेको छैन ।
यससँगै इटाली क्वाटरफाइनलमा पुग्ने दोस्रो टिम बनेको छ । अष्ट्रिया भने प्रतियोगिताबाट बाहिरिएको छ ।
इटालीले क्वाटरफाइनलमा बेल्जियम र पोर्चुगलबीचको विजेतासँग खेल्नेछ ।
प्रतियोगिताको समूह चरणमा इटाली समूह ‘ए’ को विजेता बन्दै नकआउट चरणमा पुगेको हो । समूह चरणमा इटालीले ३ खेलमा ९ अंक जोडेको थियो । पहिलो पटक नकआउट चरणमा पुगेको अष्ट्रिया समूह ‘सी’ को उपविजेता बनेको थियो । समूह चरणमा अष्ट्रियाले ३ खेलमा ६ अंक जोडेको थियो ।

