मेचीनगर, असार १२ । पुलबाट लडेर गम्भीर घाइते भइ उपचार्थ गराइ रहेका मेचीनगर ५ स्थित घैलाडुब्बाका सन्तोष गिरीको उपचारका लागि रकम जुट्ने क्रम जारी छ ।
असार ४ गते साँझ घर नजिकैको पुलबाट लडेर घाइते बनेका २७ बर्षीय गिरीलाई उपचारका लागि मेची अभियानका संयोजक विजय डालमियाको पहलमा सोही दिन बिर्तामोडस्थित बिर्तासिटी अस्पताल भर्ना गरिएको थियो । हालसमेत उनै डालमियाको समन्वयमा उपचार जारी रहेको पारिवारिक स्रोतले बताएको छ ।
लडेर घाइते बनेका उनको पिसाव थैली फुटेको र तत्काल मेजर सर्जरी गर्नुपर्ने चिकित्सकले बताएका थिए । तर, रकम अभाव हुँदा सुरुका दिनमा उनको अपरेशन हुन सकेन । स्थानीय युवाहरुको पहल र प्रतिवद्धता पछि अस्पतालले अस्पताल भर्ना भएको २४ घण्टा पछि उनको शल्यक्रिया गरेको थियो ।
शल्यक्रिया सफल भएसँगै जीवन र मरणको दोसाँधमा रहेका गिरीको ज्यान बाँच्न सफल भएपनि यतिबेला उनलाई अस्पतालबाट डिस्चार्ज गर्न रकम अभाव भएको परिवारिक श्रोतले बताएको छ ।
आर्थिक अवस्था अत्यन्तै न्यून रहेका गिरीको उपचारमा सहयोग गर्न स्थानीय युवाहरुले पातालगंगा युवा समूह गठन गरी रकम संकलन अभियान चलाइ रहेको स्थानीय स्वास्थ्यकर्मी राम मगरले बताए ।
उनै स्वास्थ्यकर्मी मगरसहितको पहलमा हाल विभिन्न ठाउँबाट रकम संकलन भइ रहेको छ । रकम जुट्ने क्रम जारी रहे पनि डिस्चार्जको दिन नजिकिदै गर्दा उनको उपचार बापतको रकम संकलन नहुने होकि भन्ने चिन्ता बढेको पाताल गंगा युवा समुहका संयोजक राजु तामाङले बताए ।
तामाङका अनुसार गिरीको उपचारका लागि २ लाख ५० हजार आवश्यक पर्ने अस्पताल श्रोतले बताएको छ । हालसम्म सबैको पहलमा १ लाख २० हजार रुपैयाँ संकलन भएको छ ।
तामाङले उनको डिस्चार्जको लागि आवश्यक रकम पर्ने रकम जुटाउन सहयोग गर्न सबैमा अपिल गरेका छन् । उनको उपचारमा सहयोग गर्न चाहँने जोकोहीले सहयोग संकलन समिति संयोजक राजु तामाङलाई (९८०३३५५६८७) वा स्वास्थ्यकर्मी राम मगरलाई (९८४४६५७७०९) मार्फत सम्पर्क गर्न सकिने युवा समुह संयोजक तामाङले बताए ।

