काठमाडौं, असार १४ । १६ औं संस्करणको युरोकप फुटबल प्रतियोगितामा चेक रिपब्लिक र बेल्जियम क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
उपाधि दाबेदार मानिएको नेदरल्यान्ड्सलाई हराउँदै चेक रिपब्लिक क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
हंगेरीमा आइतबार राति भएको प्रि-क्वाटरफाइनलमा चेक रिपब्लिकले नेदरल्यान्ड्सलाई २-० गोल अन्तरले पराजित गरेको हो । पुस्कास एरिनामा चेक रिपब्लिकलाई जित दिलाउन टोमस होल्स र प्याट्रिक शिकले एक एक गोल गरे ।
अब चेक रिपब्लिकले क्वाटरफाइनलमा डेनमार्कसँग खेल्नेछ । डेनमार्क वेल्सलाई ४-० ले हराएर क्वाटरफाइनलमा प्रवेश गरिसकेको छ ।
त्यस्तै स्पेनमा आइतबार राति भएको प्रि-क्वाटरफाइनलमा साविक विजेता पोर्चुगललाई १-० गोल अन्तरले पराजित गर्दै बेल्जियम अन्तिम आठमा पुगेको हो ।
सेभियास्थित स्टाडियो ला कुर्ट्जा स्टेडियममा बेल्जियमलाई जित दिलाउन थोर्गन हाजार्डले निर्णायक गोल गरे । खेलको ४२ औं मिनेटमा हाजार्डले बेल्जियमका लागि निर्णायक गोल गरेका हुन् । थोमस मुनिएरको पासमा उनले बक्स बाहिरबाट उत्कृष्ट गोल गरे ।
पोर्चुगलले भने पाएको मौकामा गोल निकाल्न सकेन । पोर्चुगलको पटक पटकको आक्रमण बेल्जियमका गोलकिपर थोबाउट कोर्टुवाले बचाएका थिए ।
यससँगै बेल्जियम क्वाटरफाइनलमा पुग्ने चौंथो टिम बनेको छ । पोर्चुगल भने अन्तिम १६ बाटै बाहिरिएको छ ।
अब बेल्जियमले क्वाटरफाइनलमा इटालीसँग प्रतिस्पर्धा गर्नेछ । अष्ट्रियालाई अतिरिक्त समयमा २-१ ले हराउँदै इटालीले अन्तिम आठको यात्रा पक्का गरिसकेको छ ।

