समाचार

झापामा निषेधाज्ञा एक साता थपियो, नीजि सवारी साधन जोरबिजोरमा प्रणालीमा चल्ने

झापा, असार १४ । झापामा जारी निषेधाज्ञा थप एक साता लम्ब्याईएको छ । 

जिल्लामा सोमबार बसेको डिसीसीएमसीको बैठकले आज राति १२ बजेसम्मका लागि जारी रहेको निषेधाज्ञालाई असार २१ गते राति १२ बजेसम्मका लागि थप गर्ने निर्णय गरेको झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सनाले जानकारी दिए ।

लकडाउन अवधिभर प्रशासनले भीड हुने भनिएका विद्यालय, जिम, सिनेमाघर, पार्क, स्विमिङ पुल, खेलकुद, इत्यादि सञ्चालनमा भने रोक लगाएको छ ।

खाद्यान्न, फलफूल, तरकारी, माछामासु, दुधडेरी, पुस्तक, हार्डवेयर तथा निमाणजन्य सामग्री, इलेक्ट्रिोनिक, टेलरिङ, ड्राइक्लिनर्स, लत्तकपडा, जुत्ताचप्पल, सुनचाँदी, कस्मेटिक, भाँडा, गाडी मोटरसाइकल सोरुम, प्लास्टिक तथा मेसनरी पसलहरु बिहान ६ बजेदेखि ३ बजेसम्म सञ्चालन गर्न पाइने प्रशासनले जनाएको छ ।

होटल तथा रेस्टुरेन्टहरुले टेक अवे सेवा सञ्चालन गर्नुपर्ने छ भने कृषि तथा भेटनरी पसलहरु बिहान ६ बजेदेखि ३ बजेसम्म सञ्चालन गर्न पाइनेछ । मोटर वर्कसपहरु बिहान ६ बजेदेखि ३ बजेसम्म सञ्चालन गर्न पाइने नियम बनाइएको छ ।

बैठकले अत्यावश्यकसेवाहरु बाहेकका सबै प्रकारका नीजि सवारी साधन, सिटीसफारी, अटोरिक्सा जोरविजोर प्रणाली अन्तरगत झापा जिल्ला भरी सञ्चालन गर्न पाउने निर्णय गरेको छ । सार्वजनिक सवारी साधन भने सञ्चालन गर्न पाइने छैन ।