काठमाडौं, असार १९ । स्पेन जारी १६ औं संस्करणको युरोकप फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ ।
शुक्रबार राती रुसको सेन्ट पिटर्सवर्ग स्टेडियममा भएको खेलमा स्विट्जरल्यान्डलाई पेनाल्टी सुटआउटमा ३-१ गोल अन्तरले पराजित गर्दै तीन पटकको युरोकप बिजेता स्पेन सेमिफाइनलमा पुगेको हो ।
खेलको निर्धारित ९० मिनेटमा र अतिरिक्त समयको खेल १-१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो । पेनाल्टी सुटआउटमा स्पेन भाग्यमानी साबित बन्यो ।
खेलको आठौं मिनेटमा स्पेनले आत्मघाती गोल उपहारबाट अग्रता बनाएको थियो । स्विट्जरल्यान्डका डेनिस जाकारियाले आत्मघाती गोल गरे ।
स्पेनका जोर्डी अल्बाले बक्स बाहिरबाट प्रहार गरेको बल डेनिसलाई लाग्दै गोलमा परिणत भएको थियो ।
तर, खेलको ६८ औं मिनेटमा कप्तान जद्रान शाकिरीले गोल गर्दै स्विट्जरल्यान्डलाई १-१ गोलको बराबरीमा फर्काए । उनले रिमो फ्रिउलरको पासमा गोल गरे ।
खेलको ७८ औं मिनेटमा स्विट्जरल्यान्ड १० खेलाडीमा समेटियो । उसका फ्रिउलर रातो कार्ड पाउदै मैदानबाट बाहिरिएका थिए । स्पेनका जेरार्ड मोरेनोलाई खराब ट्याकल गरेपछि उनलाई रेफ्रीले सिधै रातो कार्ड देखाएका थिए ।
अब स्पेनले सेमिफाइनलमा बेल्जियम र इटालीबीचको विजेतासँग खेल्नेछ ।

