राजनीति

कोहि सर्वहारा नेता दरबार भोग्छन, कोहि कुटी पनि पाउदैनन्

झापा, श्रावण ९ । देश र जनताको खातिर आफ्नो जीवनको महत्त्वपूर्ण समय समर्पण गरेका झापा मेचीनगरका सानो दुर्गा अधिकारीले नयाँ घर पाएका छन् ।

दाताले नयाँ घर बनाइदिए पछि विगत लामो समयदेखि डेरागरी बस्दै आएका अधिकारी दम्पती बृद्धअबस्था भएपनि आफ्नै नयाँ घरमा बस्न पाउने भएका हुन् ।

लोकतान्त्रीक गणतन्त्र प्राप्तीका लागि १७ बर्ष जेल जिवन बिताएका ७० बर्षिय अधिकारी पछिल्लो समय आर्थिक अवस्था कमजोर हुँदा कष्टकर जीवन बिताउन बाध्य छन् ।

प्रजातन्त्र प्राप्तीको आन्दोलनका क्रममा अधिकारी बर्तमान एमाले अध्यक्ष एवम् निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीसंगै २०३० सालमा पक्राउ परेका थिए । झापा, इलाम, बिरगञ्ज र काठमाण्डौंका विभिन्न जेलमा बसेको अधिकारी ओली भन्दा ३ बर्ष बढी जेल बसेर २०४६ सालमा जेल मुक्त भएका थिए ।

झापा क्षेत्र नं.१ का संघिय सांसद राम कार्की (पार्थ)ले आफ्नो क्षेत्र बिकास कोष मार्फत “आवाज बिहीनहरुका लागी आवास” कार्यक्रम अन्तर्गत बिनियोजित रकमबाट अधिकारीको घर निर्माण कार्य अगाडि बढेको थियो ।

अधिकारीको घर निर्माणका लागि सांसद कार्की मार्फत ३ लाख ४५ हजार रकम उपलब्ध भएको र बाँकी रकम स्थानीय बासी र श्रमदानबाट ब्यवस्थापन गरिएको निर्माण समितिका संयोजक होमप्रकाश आचार्यले जानकारी दिए ।

झापाको मेचीनगर १० स्थित धुलाबारीमा नवनिर्मित भवनमा यहि साउन १४ गते अधिकारी दम्पत्तीलाई गृह प्रवेश गराउने कार्यक्रम तय भएको माओबादी केन्द्र मेचीनगर १० का अध्यक्ष कृष्ण कौशल जानकारी दिए ।

घर निर्माण भएसंग‌ बुढेसकालमा बस्नलाई सजिलो हुने सानो दुर्गा अधिकारीले बताए । ‘बस्नलाई घर बन्यो’ अधिकारीले भने, ‘अब राज्यका तर्फबाट सामान्य भरण पोषणको ब्यवस्था भए अरु केही चाहिदैंन थियो ।’