झापा, भदौ ३ । झापाको मेचीनगर नगरपालिकामा लाखौंको लागतमा निर्माण भएको गोबर ग्यास प्लान्ट प्रयोगमा नै नआई जीर्ण अवस्थामा रहेको पाइएको छ ।
मेचीनगर–१० धुलाबारीस्थित पशुहाट छेउ, महेन्द्र राजमार्गदेखि करिब ५० मिटर दक्षिणमा रहेको सो गोबर ग्यास प्लान्ट प्रयोगमा नै नल्याई नगरपालिकाले जीर्ण अवस्थामा पु¥याएको हो ।
जनप्रतिनिधि विहीन भएको तत्कालीन अवस्थामा नगरपालिकाका कर्मचारीले विभिन्न योजनाहरू ल्याउने र कागजी प्रक्रिया मात्रै पूरा गर्ने अनि बजेट सक्ने परिपाटीले गर्दा निर्माण भएका संरचनाहरू पनि प्रयोगमा नआई जीर्ण बन्ने गरेको पाइएको छ । जसको ज्वलन्त उदाहरण बनेको छ प्लान्ट निर्माण योजना ।
नेपाल सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको आर्थिक सहयोगमा नगरपालिकाले संयोजन गर्ने गरी वि.सं. २०७१/७२ सालमा मेचीनगर कर्मचारी संयन्त्रले गोबरबाट ग्यास उत्पादन गर्ने योजनाका साथ करिब रू ५० लाखको लागतमा गोबर ग्यास प्लान्ट निर्माण कार्य अगाडि बढाएको थियो ।
निर्माण सम्पन्न भएपछि आफूहरूले त्यसको प्रत्यक्ष लाभ लिन पाउने आशामा रहेका स्थानीयहरु प्लान्ट सञ्चालनमा नै नआई जीर्ण अवस्थामा पुगेपछि उनीहरूको आशा निराशामा बदलिएको छ । आफ्नो क्षेत्रमा प्लान्ट स्थापना भएपछि सुविधा उपभोग गर्न पाइन्छ भन्दै हौसिएका स्थानीयहरु अहिले सम्बन्धित निकायको बेवास्ताका कारण ठूलो दुर्घटना हुने त्रासमा बाचिरहेका छन् ।
प्लान्ट निर्माण सम्पन्न गरेको लामो समयसम्म पनि त्यसलाई बेवास्ता गर्दै प्रयोगमा नल्याउनुले यसमा नगरपालिकाका कर्मचारीहरूको मिलेमतो र कमिसनको खेल हुनसक्ने जानकारहरू बताउँछन् । यसरी लामो समयसम्म पनि संरचना बनाउने अनि प्रयोगमा नल्याउनुले यो बजेट सक्ने उद्देश्य मात्रै रहेको पुष्टि हुन्छ ।
निर्माण गरेको उक्त प्लान्टले जनतालाई प्रतिफल दिन त सकेन, संरचना जर्ण र ठुल–ठुला भ्वाङका कारण स–साना केटाकेटीहरू पसेर दुर्घटनामा हुने सम्भावना पनि बढेको देखिन्छ । बेलैमा त्यसको प्रयोग र संरक्षण नहुँदा अहिले लाखौंको लगानीमा निर्माण भएको सो प्लान्ट प्रयोग विहीन भएको र भत्काउनु पर्ने अवस्थामा पुगेको मेचीनगर १० का वडा अध्यक्ष सुदय पनेरुले जानकारी दिए ।
नगरपालिकाले प्रयोगमा नल्याई जीर्ण बनेको प्लान्ट अहिले फोहोर फ्याक्ने ठाउँ बनेको छ । यसरी संरचना बनाउदै त्यसको प्रयोग र संरक्षण नगरी लथालिङ्ग छाड्ने हो भने जनताले तिरेको कर बालुवामा पानी खन्याए जस्तो हुने निश्चित छ ।

