झापा, भदौ २० । स्थानीय सरकारका सवालबारे झापाको विर्तामोडमा सञ्चालित दुई दिवसीय खोज पत्रकारिता तालिम सम्पन्न भएको छ ।
नेपाल पत्रकार महासंघ झापा शाखा र शेयरकास्ट इनिसिएटिभ नेपालको संयुक्त आयोजनामा बिर्तामोडको टायमलेस मुमेन्ट होटलमा शनिबारदेखि सञ्चालित खोज पत्रकारिता तालिम आइतबार सम्पन्न भएको छ ।
झापाका ३० जना क्रियाशील सञ्चारकर्मीहरूको सहभागिता रहेको तालिमका मुख्य प्रशिक्षक अग्रज पत्रकार हरिबहादुर थापाले औचित्य माथि प्रकाश पार्दै विषयवस्तु प्रस्ट्याएका थिए ।
स्थानीय सरकारलाई प्रभावकारी, पारदर्शी एवम् जवाफदेही बनाउन त्यहाका सवाल उठान गर्न पत्रकारहरुलाई खोज पत्रकारितामा प्रेरित गर्न तालिमको आयोजना गरिएको पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीले बताए ।
यता तालिममा सहभागी सञ्चारकर्मीहरूले स्थानीय सरकारले सम्पादन गर्ने कार्यहरु, कार्यक्रम निर्माण तथा बजेट विनियोजन प्रक्रिया र कार्यसम्पादनका बारेमा आम जनतालाई सुसूचित गराउने सवालहरु बारे तालिमले महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।
साथै उनीहरूले स्थानीय सरकारले दिने सेवासुविधाको प्रभावकारिता र पारदर्शिताका बारेमा तथ्य उजागर गर्ने एवम् आन्तरिक सुशासनलाई प्रवद्र्धन गर्नका लागि सञ्चार क्षेत्रबाट कसरी योगदान गर्न सकिन्छ भन्ने बारेमा पनि तालिमबाट सिकेको जनाए ।
समापन कार्यक्रममा शेयरकास्टका अफिस मेनेजर भूमि चापागाई, रिसर्च अफिसर ओसिन राई, महासंघ झापाका उपाध्यक्ष केशव भट्टराई, सचिव डिकेश लामालगायतको उपस्थिति रहेको थियो ।

