मेचीनगर, भदौ २० । नेपाली काँग्रेस मेचीनगरको सचिव पदमा युवा नेता मनोज घिमिरेले उम्मेद्वारी दिने घोषणा गर्नु भएको छ । धुलाबारीमा आज पत्रकार सम्मेलन मार्फत घिमिरेले नगरसचिवको उम्मेद्वारी घोषणा गर्नु भएको हो ।
मेचीनगर १० धुलाबारीका स्थानीय घिमिरेले काँग्रेसको युवा संघठन नेपाल तरुण दलको नगरसचिवको समेत जिम्मेवारी पुरा गरिसक्नु भएको छ । युवा पुस्तामा लोकप्रिय नेताका रुपमा परिचित घिमिरे निषेध र गुटको राजनितिभन्दा आफु टाढै रहेको बताउनु हुन्छ ।
‘म कसैको प्यानलबाट उम्मेद्वार भएको होइन’ पत्रकार सम्मेलनमा घिमिरेले भन्नुभयो, ‘अहिलेसम्मको क्रियाशिलता र पार्टी संगठनमा काम गरेको योग्यताकै आधारमा नगरसचिवको उम्मेद्वार बनेको छु ।’ काँग्रेसलाई बलियो बनाउँदै जनताको बिचबाट काँग्रेसलाई पहिलो पाटी बनाउन पनि आफुले नगरसचिवको उम्मेद्वारी दिएको घिमिरेले बताउनु भयो ।
२०५४ सालमा नेपाल बिद्यार्थी संघमा आबद्ध भइ राजनितिक यात्रा शुरु गर्नु भएका घिमिरे २०५६ सालमा नेबिसंघको क्याम्पस इकाई सचिवमा चयन हुनु भएको थियो । त्यस्तै २०६३ सालमा नेबिसंघ झापाको सदस्य हुनु भएका घिमिरे २०७० सालमा तरुण दल मेचीनगरको सचिव पदमा निर्वाचित हुनु भएको थियो ।
२०६२/०६३ को जनआन्दोलनमा सक्रिय सहभागिता जनाउनु भएका घिमिरेले पार्टीले दिएको अन्य थुप्रै जिम्मेवारी सफलता पुर्वक निर्वाह गरिसक्नु भएको छ । काँग्रेसले स्थानीयस्तरमा आयोजना गर्ने बिभिन्न कार्यक्रमहरुको ब्यवस्थापनमा प्रमुख रुपमा भुमिका निर्वाह गर्ने युवा नेता घिमिरे पार्टी भित्र र बाहिर लोकप्रिय नेता मानिनु हुन्छ ।

