राजनीति

माधव र प्रचण्डको चुनावपछि सेखी झर्छः अध्यक्ष ओली

काठमाडौं, असोज ६ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल र प्रचण्डको चुनावपछि सेखी झर्ने बताएका छन्।

नेकपा एमाले, बाँकेले नेपालगञ्जमा आयोजना गरेको बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले माधव नेपालको राजनीति सकिएको टिप्पणी गरे।
ओलीले भने, ‘रसुवामा एउटा बाटो छ। त्यहाँ गाई चर्दै गएपछि फर्किने ठाउँ छैन। माधव नेपाल त्यही बाटोमा हिँडिरहेका छन्। यिनको राजनीति फर्किंदैन।’

ओलीले यही चुनावपछि प्रचण्डको सेखी झर्ने ठोकुवा गरे। ‘प्रचण्डले कहिलेकाहीँ राम्रो कुरा गर्छन्। अस्ति कता हो, दुई वर्षपछि म एक्लै हुन्छु कि क्या हो भनेछन्, ओलीले भने, धेरै भाग खान हिँडेका थिए। अब सकिन्छन्।’

ओलीले माधव नेपाल र प्रचण्डको दिमागमा पद, मान, सम्मानमात्रै रहेको बताए। ‘यिनीहरूले हिमालतिर हेर्दैनन्, खाली सिंहदरबारतिर मात्रै हेर्छन्, ओलीले भने।

ओलीले माधव र प्रचण्डलाई शेरबहादुरवाद, नेकावाद, पिछलग्गुवाद लेख्न सुझावसमेत दिए। उनले भने, माधव नेपाल र प्रचण्डले शेरबहादुरवाद, नेकावाद, पिछलग्गुवाद लेख्नुपर्नेमा अझै माक्र्सवाद, लेनिनवाद, एकीकृत समाजवाद लेखिरहेका छन्।’

पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले परमादेशबाट बनेको सरकारले केही गर्न नसक्ने बताए। ‘यो सरकार त मुद्दा लडेर जाली किर्ते पाराले भनेको सरकार हो। पाँचदलीय गठबन्धनको यो सरकारले केही गर्नेवाला छैन, ओलीले थपे, गठबन्धनमा चन्द्रमुखी छन्। कोही कता फर्केका छन्, कोही कता फर्केका छन्।’

लुम्बिनीका पूर्वमुख्यमन्त्री शंकर पोखरेल, लीला गिरी, मो. हारुनलगायतले एमालेलाई एकढिक्का बनाएर अघि बढ्न निर्देशन दिए।

पार्टी अध्यक्ष ओलीको भाषण सुन्न ठूलो संख्यामा नेता तथा कार्यकर्ताको उपस्थिति थियो। त्यसअघि ओलीले बर्दियामा भएको कार्यक्रमलाई सम्बोधन गरेका थिए।