चितवन । यतिबेला चितवन नेकपा एमालेमय बनेको छ । भोलि मङ्सिर १० गतेदेखि सुरु हुन लागेको पार्टीको १० औं राष्ट्रिय महाधिवेशनका लागि एमालेका प्रतिनिधि तथा नेतारकार्यकर्ताहरु चितवन आएसँगै चितवन एमालेमाया बनेको हो।
महाधिवेशनका लागि भरतपुर वरपरका सडक किनारदेखि फुटपाथका पसलहरुमा पार्टीको झण्डाले झकिझकाउ गरिएको छ । उता नारायणी किनारमा बनिरहेको मन्च पनि तयारी भइसकेको छ।
जिल्लामा बुधबारदेखि नेताहरु आउने क्रम बढेको थियो भने बिहीबार पनि सोही क्रमले निरन्तरता पाइरहेको छ । विभिन्न जिल्लादेखि केन्द्रसम्म रहेका नेताहरु कोही हवाई मार्ग त कोही सडक मार्गमार्फत चितवन भित्रिरहेका छन् ।
महाधिवेशनसँगै पार्टीले नयाँ नेतृत्व पाउने छ। यसपटक अध्यक्ष पदमा केपी शर्मा ओलीसँग पार्टीका उपाध्यक्ष भीम रावलले प्रतिस्पर्धा गर्ने घोषणा गरिसकेका छन्। महाधिवेशन नजिकिदै गएसँगै पार्टी कार्यकर्तादेखि लिएर आमसर्वसाधारणहरुमा पनि अबको एमाले नेतृत्वमा को आउला भन्ने कौतुहलता बढेको देखिन्छ ।
त्यसो त पार्टीका अधिकांश नेताहरुले अध्यक्षमा ओलीलाई नै सर्वसम्मत चयन गर्ने तयारी गरिरहेका बेला उपाध्यक्ष रावलले अध्यक्षमा घोषणा गरेका हुन्। यद्यपि रावलले पछिल्ला आफ्ना अन्तर्वार्ताहरुमा पनि आफूले जित्नकै लागि उम्मेदवारी दिएको बताउदै आएका छन् ।

