काठमाडौँ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत हिजो भएको मतदानको सभापतिको मतगणना सुरु भएको छ।
महाधिवेशनस्थल राष्ट्रिय सभागृहमा आज विहान ४.२० बजेदेखि मतगणना सुरु भएको पार्टीको केन्द्रीय निर्वाचन समितिका सदस्य तेजबहादुर रावलले जानकारी दिनुभयो । उहाँका अनुसार मतगणना पूरा गर्न करिब तीनदेखि चार घण्टा समय लाग्नेछ ।
सोमबार बिहान ११.४५ बजेदेखि राति ११.४५ बजेसम्म भएको मतदानमा जम्मा चार हजार ७४३ मतदातामध्ये चार हजार ६७९ मतदाताले मतदान गरेका थिए ।
मतदान सकिए लगत्तै मतपेटिका शिलबन्दी गर्ने, मुचुल्का तयार गर्ने, मतगणना आचारसंहिता तयार गर्नेलगायत आवश्यक प्रक्रिया पूरा गरी मतगणना सुरु गरिएको समितिले जनाएको छ ।
अहिलेसम्म सभाततिको २१०६ मत गणनामा हुँदा सभापतिका उम्मेद्वार कल्याण गुरुङ ९, प्रकाशमान सिहं १७४, विमलेन्द्र निधि १३७, डा. शेखर कोइराला ७६२ र शेर बहादुर देउवाले ९९१ मत ल्याएक छन् ।
कांग्रेस विधानअनुसार सभापतिमा निर्वाचित हुन खसेको मतको ५० प्रतिशत भन्दा बढी मत प्राप्त गर्नु अनिवार्य हुनेछ ।
पहिलो पटक कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत नल्याएमा सबैभन्दा बढी मत ल्याउने दुई जनाबीच पुनः मतदान गरिनेछ । पुनः मतदान हुँदा बढीमत प्राप्त गर्ने उम्मेदवार विजयी हुनेछ । तर पहिलो पटक नै दुई जनामात्र उम्मेदवार भएमा बढी मत ल्याउने उम्मेदवार विजयी हुने विधानको व्यवस्था छ ।
सभापतिका लागि प्रधानमन्त्री एवं वर्तमान पार्टी सभापति शेरबहादुर देउवा, उपसभापति विमलेन्द्र निधी, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्यद्धय डा शेखर कोइराला र कल्याणकुमार गुरुङ चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ ।
कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्य गरी १३२ पदका लागि मतदान भएको थियो । अन्य पदको मतगणना भने सभापति पदको मतगणनापछि पार्टी केन्द्रीय कार्यालयमा गरिने बताइएको छ ।-

