अर्थ संघ \संस्था

मेची कृषक बहुमुखी सहकारी संस्थाको २२ औं वार्षिक साधारण सम्पन्न

झापा । प्रदेश एकका आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले देशमा कृषि पेशा रोजगारी र व्यवसायिक नभएर थोपरिएको पेशाको रुपमा मात्रै रहेको बताएका छन् । शनिबार मेची कृषक बहुमुखी सहकारी संस्थाको २२ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री कार्कीले सो कुरा बताएका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मन्त्री कार्कीले कृषि पेशालाई व्यवसायीक बनाउन नसक्नु र देशका अधिकांश युवाहरु परदेश पलायन हुनुले अहिले देश रेमिट्यान्सको भरमा चलेको बताए । साथै उनले नेपाली समाज र शिक्षाले पनि कृषि क्षेत्रलाई अपहेलना गरेको जिकिर गर्दै अब त्यसलाई परिवर्तन गर्दै कृषि क्षेत्रलाई पहिलो प्राथमिकतामा राख्नुको बिकल्प नरहेको बताए ।

साथै कृषि प्रधान देश नेपालमा गरिवी निर्मूल गर्न कृषि क्षेत्रलाई प्रभावकारी ढंगले अगाडि बढाउन पर्ने बताउदैं मन्त्री कार्कीले त्यसलाई सफल पार्न सहकारी मात्र एक भरपर्दो माध्यम भएको बताउदैं सहकारीलाई कृषि क्षेत्रमा अझ शसक्त ढंगले लाग्न आग्रह गरे ।

मेची कृषक सहकारी संस्थाको खुलेर प्रशंसा गर्दै उनले भने–‘मेची कृषकले बचत तथा ऋणको कार्यक्रमसँगै बिउँविजनको कार्यक्रम अघि बढाएको रहेछ । सदस्यको जीवनस्तर उकास्न र देशलाई कृषिमा आत्मनिर्भर बनाउन यो अभियान महत्वपूर्ण हुनेछ । सबै सहकारी अब उत्पानमा लाग्नुको विकल्प छैन ।’

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सीना, मेचीनगर प्रमुख बिमल आचार्य, उपप्रमुख मिना उप्रेती, सहकारी अभियान्ता, जिल्लाका नेपाल प्रहरी तथा शसस्त्र प्रहरीका प्रमुख, जनप्रतिनिधि, विभिन्न संघसंस्थाका पधाधिकारीलगायतको आतिथ्यता रहेको थियो ।

संस्थाका अध्यक्ष हरि बुढाथोकीको अध्यक्षतामा आयोजित कार्यक्रम सञ्चालन व्यवस्थापक दिपक काफ्लेले गरेका थिए ।