राजनीति

माओवादी केन्द्रको महाधिवेशन आजदेखि

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को महाधिवेशन आज (आइतबार) काठमाडौँमा सुरु हुँदैछ ।

पर्सिसम्म चल्ने महाधिवेशनले विभिन्न प्रस्ताव अनुमोदन र नयाँ नेतृत्व चयन गर्नेछ । महाधिवेशनमा देशभरका एक हजार छ सय ३१ प्रतिनिधि सहभागी हुने माओवादीले जनाएको छ ।

यो महाधिवेशनबाट माओवादी बहुपदीय प्रणालीमा जाँदैछ । यसअनुसार केन्द्रीय कमिटीमा पदाधिकारीको सङ्ख्या १५ हुनेछ । महाधिवेशनबाट पार्टीमा एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, सात उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव र तीन सचिव निर्वाचित हुनेछन् । यद्यपि, यो सङ्ख्याको अन्तिम टुङ्गो पनि महाधिवेशनले नै लगाउने छ ।

महाधिवेशनले दुई सय ९९ सदस्यीय केन्द्रीय कमिटी निर्माण गर्नेछ । समितिमा महिला ३५ प्रतिशत, युवा २० प्रतिशत, दलित १५ प्रतिशत र मुस्लिम पाँच प्रतिशत रहने छन् ।

बहुपदीय प्रणालीअन्तर्गत प्रदेश तह नौ, पालिकामा सात र वडा तहमा पाँच पद कायम गरिएका छन्  । जिल्ला तहको पार्टी कमिटी जिल्ला समन्वय समितिका रूपमा छ ।

यो महाधिवेशन विशेषगरी तीन कार्ययोजनामा केन्द्रित गरिएको छ । महाधिवेशनले अबको कार्यदिशाबारे पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तयार पारेको राजनीतिक प्रतिवेदनमाथि छलफल र अनुमोदन गर्नेछ । अन्तरिम विधान–२०७८ अनुमोदन र विधानअनुसार केन्द्रीय नेतृत्व चयन गर्ने तयारी रहेको नेता लीलामणि पौडेलले बताए ।

उनका अनुसार महाधिवेशनमा आम पार्टी सदस्यद्वारा निर्वाचित कमिटी निर्माण गर्ने, विधान, प्रतिवेदन, नीति, कार्यक्रम र सङ्गठनबारे निर्णय गर्नसक्नेछ ।

माओवादीले आजदेखि राष्ट्रिय सम्मेलन आयोजन गर्ने बताएपछि हिजोको स्थायी कमिटी बैठकले यसलाई महाधिवेशनको नाम दिएको छ । नेता कृष्णबहादुर महराले पार्टीमा धेरैको आकर्षण बढेको भन्दै यसलाई सम्मेलनको सट्टा महाधिवेशनको नाम दिइएको बताए ।

तर राजनीतिक दलसम्बन्धी ऐनमा प्रत्येक पाँच वर्षमा राजनीतिक दलको महाधिवेशन भएको हुनुपर्ने प्रावधानले माओवादी राष्ट्रिय सम्मेलनको नाम परिवर्तन गरी महाधिवेशनमा गएको हुनसक्ने आँकलन गरिएको छ ।