विविध

देशका केही स्थानमा हिमपातको सम्भावना

काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण देशका विभिन्न भागमा वर्षा भइरहेको छ ।

गएरातिदेखि देशभर सामान्यदेखि पूर्ण बदली भई धेरै स्थानमा मेघगर्जन र चटयाङसहित हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज दिउँसो देशका धेरै स्थानमा मेघ गर्जन,चटयाङ् र असिनासहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी तथा लुम्बिनी प्रदेशको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागको अनुमान छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको बताइएको छ ।

आज राति प्रदेश–१, मधेस प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा मेघ गर्जनरचटयाङ र असिनासहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागको भनाइ छ ।

सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।