संघ \संस्था

बीएन्डसीले पत्रकारलाई बिना काम तलव लिएको र घर बनाइदिएको भन्ने दुर्गा प्रसाइको अभिव्यक्ति प्रति प्रेस चौतारी झापाको ध्यानाकर्षण

झापा । प्रेस चौतारी नेपालको झापा शाखाले बीएन्डसी हस्पिटलका सञ्चालक दुर्गा प्रसाईले हालै दिएको विवादास्पद अभिव्यक्तिको छानविन हुनुपर्ने माग गरेको छ ।

प्रसाईले सेतोपाटी डटकममा प्रकाशन भएको समाचारको समाचारको विषयमा आपत्ति प्रकट गर्दै पत्रकार सम्मेलन गर्ने क्रममा पत्रकारहरुले भ्रामक समाचार लेखेर हैरान पारेकाले अब पत्रकारहरुसँग भिड्ने धम्की दिएका थिए ।

पत्रकार सम्मेलनपछि सार्वजनिक रुपमा बोल्दै प्रसाईले नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरीले बीएन्डसीबाट मासिक तलब दिएको र प्रदेश महासंघका सदस्य सुरेन्द्र भण्डारीको घर बनाइदिएको समेत बताएका थिए । यस विषयमा निष्पक्ष छानविन हुनुपर्ने चौतारी झापाको विज्ञप्तिमा उल्लेख छ ।

नेपाल पत्रकार महासंघको झापा शाखाले मासिक तलब र घर बनाइदिएको भन्ने विषयमा कुनै प्रतिक्रिया जनाएको छैन । पत्रकारहरुलाई गालीगलौज र धम्की दिएको भनेर मात्र महासंघले विज्ञप्ति जारी गरेको थियो । महासंघले अभिब्यक्ति सच्याउन र आइन्दा यस्तो धम्की नदोहोर्याउन प्रसाईलाई चेतावनी दिएको थियो ।

चौतारी झापाका अध्यक्ष मनकुमार गदालले हस्ताक्षर गरेको विज्ञप्तिमा यदि झुठा अभिब्यक्ति भए सच्याउन प्रसाईलाई आग्रह गरेका छन् । चौतारीले प्रेस काउन्सिल नेपाल र नेपाल पत्रकार महासंघको केन्द्रीय समितिलाई छानविनको अग्रसरता लिन अनुरोध गरेको छ ।