झापा । पाँचौं संस्करणको झापा गोल्डकपको तयारी तिब्र रुपमा भईरहेको छ । मोफसलकै प्रतिष्ठित एवं लोकप्रिय मानिएको झापा गोल्डकपको पाँचौं संस्करणको मिति नजीकीए संगै आयोजकले तयारी तिब्र रुपमा अगाडी बढाएको हो ।

झापाको विर्तामोड नगरपालिका ३ स्थित डोमालाल राजवंशी रंगशालामा फागुन २१ देखि सञ्चालन हुने प्रतियोगितालाई अघिल्लो संस्करण भन्दा अझ भव्य, सब्य र व्यवस्थित बनाउन आयोजक समिति कम्मर कसेर लागि परिरहेको छ ।
कोभिडका कारण दुई वर्षदेखि हुन नसकेको गोल्डकपको पाँचौं संस्करण फागुन ३० गतेसम्म हुने भएको छ । प्रतियोगितामा आयोजक झापा ११ फुटबल क्लबसहित नेपालका ए डिभिजनका ९ र एक विदेशी गरी १० टिमको सहभागीता रहने जनाइएको छ । प्रतियोगितामा सहभागी हुने टिमको टुंगो लगाउने कार्य भइरहेको झापा गोल्डकपका अध्यक्ष बिनोद बस्नेतले हाम्रो खबरपाटी डटकमलाई जानकारी दिए ।

फुटबल प्रेमी दर्शकहरुलाई ब्यवस्थित रुपमा प्रतियोगिता हेर्ने ब्यवस्था मिलाउन अहिले दश हजार क्षमताको बासको प्यारापिट निर्माण कार्य धमाधम भईरहेको छ । विगतको संस्करण भन्दा पनि यसपाली व्यवस्थापनलाई अझ व्यवस्थित बनाएर प्रतियोगिता आयोजना गर्ने प्रयासमा आयोजक लागि परेको अध्यक्ष बस्नेतले जानकारी दिए ।
गोल्डकप सम्पन्न गर्न एक करोड ५० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । गोल्डकपको विजेता टिमले नगद १२ लाख ५५ हजार र उपविजेताले नगद छ लाख पाँच हजार रुपैयाँ प्राप्त गर्ने गोल्डकप सचिवालयले जनाएको छ ।

त्यस्तै, मस्ट भ्यालुएवल प्लेयरलाई एक थान मोटरसाइकल, उत्कृष्ट गोलकिप्पर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट प्रशिक्षकलाई नगद २१ हजार र उच्च गोलकर्तालाई नगद २५ हजार प्रदान गरिने गिरीले बताए । प्रत्येक खेलको म्यान अफ द म्याचलाई नगद ९ हजार ९९९ रुपैयाँ दिइनेछ ।


