देबु बानियाँ । बाहुण्डाँगी । प्रदेश नम्बर १ स्तरीय लोक नृत्य प्रतियोगितामा झापा धुलाबारीको होलिबेल अंग्रेजी माध्यमिक विद्यालय च्याम्पियन बनेको छ । बुधवार सुनसरीको धरानमा सम्पन्न प्रतियोगितामा प्रदेश १ का २९ वटा विद्यालयलाई पछि पार्दै होलिबेलले उपाधी माथि कब्जा जमाएको हो । उपाधीसँगै होलिबेलले नगद ३० हजार, प्रमाणपत्र र ट्रफी प्राप्त गरेको छ । पूर्वी नेपालको झापामा बसोबास गर्ने लोपोन्मुख मेचे जातिको संस्कृति झल्कने मेचे गितमा विद्यार्थीहरुले नृत्य प्रस्तुत गरेका थिए ।

नृत्य टोलीमा १० जना विद्यार्थी सहभागि थिए । यसैगरी उत्ृकष्ट प्रशिक्षकमा समेत होलिबेलका प्रितम सम्बाहाम्फेले जितेका छन् । प्रतियोगितामा उत्कृष्ट कोरियोग्राफ गरेका सम्बाहाम्फेले उत्कृष्ट प्रशिक्षकको उपाधीसँगै नगद २ हजार ५ सय प्राप्त गरे ।

बिगत ७ वर्षदेखि नृत्यमा उत्कृष्ट प्रर्दशन गर्दै आएको होलिबेलले नगर, क्षेत्र तथा जिल्लामा दर्जनौ पटक उत्कृष्ट बनिसकेको छ । मेचीनगर क्षेत्रमा पढाइसँगै अतिरिक्त क्रियाकलापमा अब्बल रहेको होलिबेल नृत्य, खेलकुद, साहित्यलगायतका विधामा पनि उत्तिकै अग्रपंतिमा रहेको छ ।
यो प्रतियोगिताको जितले विद्यालयले गर्वको महसुस गरेको विद्यालयकी संस्थापक अनिता प्रधानले बताउनु भयो ।

उहाँले विद्यार्थीको मेहेनत, प्रशिश्रकको लगनशिलता र अभिभावकको साथमा यो सफलता प्राप्त गरेको बताउँदै आउँदन दिनमा समेत अझ हौषला प्राप्त भएको बताउनु भयो । विजेता विद्यार्थी तथा प्रशिक्षकलाई शुक्रवार विद्यालयमा सम्मान गरिने संस्थापक प्रधानलले बताउनु भयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपाल बस्नेतले प्रदेश स्तरमा विजेता बनेको नृत्य कलाकार नानीहरुलाई बधाई दिदैँ सहयोगी सबैमा आभार व्यक्त गर्नु भयो । उहाँले विद्यालयको गरिमालाई यसले अझ उचाइमा पुर्याएको बताउनु भयो ।


