खेलकुद

झापा गोल्डकप: सिक्किमलाई हराउँदै झापा–११ सेमिफाइनलमा प्रवेश

झापा । घरेलु टोली झापा–११ विर्तामोडमा जारी पाँचौँ झापा गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

डोमालाल राजवंशी रंगशालामा आज भएको प्रतियोगिताको अन्तिम क्वाटरफाइनल खेलमा पाहुना टोली भारत सिक्किमको आरपी एफसीलाई ५-१ गोल अन्तरले पराजित गर्दै झापा ११ सेमिफाइनल प्रवेश गरेको हो ।

झापा ११ को तर्फबाट खेलको ३१औं मिनेटमा पाएको पेनाल्टी सदुपयोग गर्दै बिमल घर्ती मगरले पहिलो गोल गरेका थिए ।

खेलको दोस्रो हाफको ८ मिनेटमा रेड पाण्डाले आत्मघाती गोल गर्दा झापा ११ ले २ गोलको अग्रता बनायो । त्यसको ४ मिनेटपछि झापा ११ का खेलाडी विशाल राईले झापाको लागि तेस्रो गोल गरे । झापाको तर्फबाट गरेको थुप्रै प्रहार रेड पाण्डाका गोलकिपर निन्दुप लेप्चाले बिफल तुल्याए ।

दोस्रो हाफको २०औं मिनेटमा रेड पाण्डाले पाएको पेनाल्टी सदुपयोग गर्दै योगेश मगरले टिमको लागि पहिलो गोल गरे ।

खेलको ३२औं मिनेटमा झापा ११ ले पेनाल्टी मार्फत बिमल घर्ती मगरले चौथो गोल गरे । ४३औं मिनेटमा बिश्वास श्रेष्ठले झापा ११ को लागि पाँचौ गोल गरे ।

आजको खेलको उत्कृष्ट खेलाडी झापा ११ का बिश्वास श्रेष्ठ घोषित भए ।

भोलि हुने पहिलो सेमिफाइनल खेल त्रिभुवन आर्मी क्लब र सातदोबाटो फुटबल क्लब बिच हुने आयोजकले जनाएको छ । 

फागुन ३० गतेसम्म चल्ने प्रतियोगिताका विजेताले नगद १२ लाख ५५ हजार र उपविजेताले ६ लाख ५ हजार पाउने आयोजकले जनाएको छ ।