खेलकुद

विराट वारियर्स र सनराइज काँकरभिट्टा विजयी

झापा । झापाको काँकरभिट्टामा जारी रसोइ झापा सुपर लिग प्रतियोगिता अन्तर्गत सोमबार भएको खेलमा विराट वारियर्स र सनराइज काँकरभिट्टा विजयी भएका छन् ।

काँकरभिट्टा माविको खेलमैदानमा भएको पहिलो खेलमा धुलाबारी टाइगर्सलाई १८ रनले पराजित गर्दै विराट वारियर्सले प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ । त्यस्तै दोस्रो खेलमा बोस्टन ब्लास्टर्स विरुद्ध सनराइज काँकरभिट्टाले ६ विकेटको जित निकालेको छ ।

टस हारेर पहिलो ब्याटिङ गरेको विराटले सानदार प्रदर्शन गर्दै निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २०९ रन बनाएको थियोे । विराटका लागि विवेक यादवले सर्वाधिक ८१ रन कप्तान अंकित सुवेदीले ४७ रन, सिद्धान्त लोहनी २९ रन, सोनु अन्सारीले २५ रन, अनिस लुइँटेल १७ रन जोडन सफल भए ।

बलिङतर्फ विराटका अंकित सुवेदीले ३ विकेट, अनिस लुइँटेलले २ तथा अभ्यास तिम्सिना , विवेक यादव, विपिन महतो र सिद्धान्त लोहनीले समान १–१ विकेट हात पारे।

त्यस्तै लक्ष्य पछ्याउने क्रममा धुलाबारीका लागि गुलसन झाले ४९ रन, डम्बर विष्टले १७ रन, विवेक बुढाथोकीले १८ रन, शिव राजवंशीले ३ रन, सुजन थपलियाले २३ रन, मुकुन्द यादवले २७ रन, राज थापाले १८ रन, दिपेश कडेलले ५ रन र प्रवेश कामतीले १७ रन बनाए । बलिङतर्फ धुलाबारीका राज थापाले २ विकेट, गुल्सन झा, ज्ञानेन्द्र श्रेष्ठ र दिपेश कडेलले समान १–१ विकेट लिए ।

खेलको प्लेयर अफ द म्याच विराटका विवेक यादव घोषित भए । उनले नगद ३ हजार प्राप्त गरे।

त्यस्तै आज नै भएको दोस्रो खेलमा टस हारेर पहिलो ब्याटिङ गरेको बोस्टन ब्लास्टर्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १९० रन बनाउन सफल भएको थियोे । बोस्टनका लागि नेपाली क्रिकेट टोलीका मुख्य खेलाडी करण केसीले अविजित ७६ रन प्रहार गरे । बोस्टनका लागि विधान गोस्वामी ३२ रन, विवेक चिमोरिया १३ रन, मिनास थापा ३ रन, दिपु भुजेल ३९ रन र समीर कार्कीले १८ रन बनाउन सफल भए। बलिङतर्फ बोस्टनका लागि राहुल पाठर विधान गोस्वामीले समान २–२ विकेट लिए ।

१९१ रनको लक्ष्य पछ्याउने क्रममा काँकरभिट्टाका लागि सन्दिप ढुंगानाले सर्वाधिक ७८ रन प्रहार गरे। भुपाल दंगालले २८ रन, पवन सरार्फ १७ रन, फिर्दाेश अन्सारी २८ रन बनाउँदै आउट भए भने सुभांकर उराउ २१ रन तथा विराट डाँगी १ रन खेल्दै अविजित रहँदै टिमलाई जित दिलाए । बलिङतर्फ काँकरभिट्टाका लागि फिर्दाेस अन्सारीले २ तथा सुभांकर उराउ र कमल खत्रीले समान १–१ विकेट लिए ।

खेलको म्यान् अफ द म्याच काँकरभिट्टाका सन्दिप ढुंगाना घोषित भए । उनले नगद ३ हजार प्राप्त गरे।

प्रतियोगिताको विजेता टोलीले नगद रु २ लाख ११ हजारसहित ट्रफी पाउने छ भने उपविजेता टोलीले नगद रु १ लाख ११ हजार सहित ट्रफी पाउने छ ।

प्रतियोगिता अन्तर्गत भोली बिहान पहिलो खेल भद्रपुर र धुलाबारी बिच हुनेछ भने दोस्रो खेल दिउँसो १ बजेबाट बोस्टन र विराट वारियर्सबिच हुने आयोजक समितिका अध्यक्ष हिमाल पोर्तेलले जानकारी दिए ।