
ईलाम, जेष्ठ १६ । इलामको सुर्योदय नगरपालिकामा जारी दोश्रो सुर्योदय आमन्त्रण मेयरकप फुटबल प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन मेचीनगर नगरपालिका फाइनलमा प्रवेश गरेका छ ।
करफोक माविको खेलमैदानमा विहिवार सम्पन्न अन्तिम सेमीफाइनल खेलमा कन्काई नगरपालिका लाई ७–० को फराकिलो गोल अन्तरले पराजित गर्दै मेचीनगरले फाइनलको यात्रा तय गरेको हो ।
प्रतियोगितामा सुरु देखि नै हावि बनेको मेचीनगरले खेल अवधि भर नै कन्काईलाई दवाबमा राखेको थियो । गिल्सन हावि हुदै ह्रयाट्रिक पुरा गर्दा कन्काईको प्रदर्शन फितलो रह्यो । गिल्सनको ह्रयाट्रिक सहित एन्जल गुरुङ, पुजन उपरकोटी, अशोक खवास र पुजन राईले एक-एक गोल गरेका थिए ।
खेलको ८ औ मिनेटमा निशान लिम्बुको क्रसमा जाली चुमाउदै खमिर गिल्सनले सुरुवाती अग्रता दिलाएका थिए । २९ औ मिनेटमा गोलरक्षकलाई बिट गराउदै एन्जल गुरुङले अग्रता २–० बनाए । इन्जुरी समयमा निशानकै क्रसमा खमिरले व्यक्तिगत दोश्रो गोल गरेपछि मेचीनगरले पहिलो हाफमा ३ गोलको अग्रता बनाएको थियो । दोश्रो हाफको ६ औ मिनेटमा खमिर गिल्सनले ह्रयाट्रिक पुरा गरे । १५ औं मिनेटमा पुजन उपरकोटी, २३ औं मिनेटमा पुजन राई र ३८ औं मिनेटमा अशोक राईले गोल गरे ।
उपाधीका लागि मेचीनगरले शनिवार हुने फाइनल खेलमा ईलामको देउमाई नगरपालिका सँग प्रतिस्पर्धा गर्ने छ । गत जेष्ठ ११ गतेबाट सुरु भएको प्रतियोगितामा झापा र इलामका ९ नगरपालिकाको टिमले सहभागि जनाएका थिए। प्रतियोगितामा विजेता हुने टिमले नगद २ लाख र उपविजेता हुने टिमले नगद १ लाख सहित मेडल र ट्रफी हात पार्ने छ ।

