झापा । बाह्रदशी गाउँपालिकाले कक्षा १२ सम्म अध्ययनरत विद्यार्थीलाई निःशुल्क शिक्षा प्रदान गर्ने निर्णय गरेको छ ।
गाउँपालिका भित्र रहेका सामुदायिक विद्यालयमा अध्ययनरत सबै विद्यार्थीलाई कक्षा १२ सम्म निशुल्क शिक्षा प्रदान गर्ने निर्णय गरेको गाउँपालिकाका सूचना अधिकारी हिमाल सुवेदीले जानकारी दिए । स्थानीय तहको निर्वाचन पछि बाह्रदशी गाउँपालिकाको पहिलो बैठकले यस्तो निर्णय गरेको हो गाउँपालिकाका सूचना अधिकारी सुवेदीले भने – बाह्रदशीमा तीन वटा सामुदायिक विद्यालयमा कक्षा ११ र १२ को पठन पाठठन हुन्छ । ति विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई गाउँपालिकाले निःशुल्क अध्ययनको व्यवस्था गरेको हो ।
बाह्रदशी गाउँपालिकाका अध्यक्ष देविन्द्र चम्लगाईको अध्यक्षतामा भएको बैठकले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राख्दै यस्तो निर्णय गरेको हो । आर्थिक अभावका कारण धेरै विद्यार्थीले कक्षा १० सम्मको अध्ययन पूरा गरी बीचैमा पढाई छाड्ने समस्या देखिएको र त्यसलाई रोक्दै सबै विद्यार्थीलाई सहज रुपमा कक्षा १२ सम्म पठनपाठन गराउन गाउँपालिकाले यस्तो निर्णय गरेको गाउँपालिका अध्यक्ष चम्लगाईको भनाई छ ।
बाह्रदशी गाउँपालिकामा रहेका तीन वटा सामुदायिक विद्यालयमा कक्षा ११ र १२ मा ५५० को हाराहारीमा विद्यार्थी अध्ययनरत रहेको बताइएको छ ।

