संघ \संस्था समाचार

कोहलपुरले ल्यायो एक अर्व १६ करोड ७६ लाखको बजेट

झापा । कोहलपुर नगरपालिकाले आगामी आर्थिक वर्ष ०७९–०८० का लागि एक अर्व १६ करोड ७६ लाख रुपैयाँको अनुमानित बजेट नगर सभामा पेश गरेको छ । ११ औँ नगर सभामा उपमेयर संगिता सुवेदीले आन्तररिक राजश्वबाट २० करोड ३१ लाख ९५ हजार, संघीय सरकारबाट प्राप्त ५८ करोड एक लाख, प्रदेश सरकारबाट प्राप्त हुने अनुदान पाँच करोड १६ हजार गरी ८३ करोड ३३ लाख ११ हजार र नगर विकास कोषको ऋण अनुदान पाँच करोड तथा संचीत कोषमा मौज्दात हुन आउने १२ करोड गरि कुल एक अर्व १६ करोड ७६ लाखको अनुमानित बजेट पेश गरेकी हुन् ।


उनले संघीय सरकारको निःसर्त तर्फको ७१ करोड दुई लाख र संघीय सरकारबाट प्राप्त सशर्त अनुदानतर्फ ३४ करोड ८४ लाख तथा लुम्विनी प्रदेश सरकारबाट प्राप्त हुने सशर्त एक करोड १० लाख रुपैयाँ विभिन्न विषयगत शिर्षकमा बिनियोजन गरिएको बताइन् । प्रशासनिय खर्च १७ करोड ८० लाख, सामाजिक विकासतर्फ आठ करोड ५२ लाख रहेको बताउँदै उनले शिक्षामा ६ करोड ३५ लाख, स्वास्थ्यतर्फ एक करोड ३५ लाख, महिला बालबालिका तथा समाज कल्याण तर्फ १८ लाख ५० हजार, आयुर्वेदतर्फ ११ लाख र सामाजिक विकास शाखाका लागि ५२ लाख ५० हजार रुपैयाँ विनियोजन गरिएको जानकारी दिइन् ।
आर्थिक विकास शाखातर्फ एक करोड ६० लाख बजेट विनियोजित गरेको कोहलपुरले कृषि विकासका लागि ५० लाख, पशुपंक्षी तथा मत्स्य विकासतर्फ ५० लाख र आर्थिक विकास शाखातर्फ ६० लाख विनियोजन गरिएको उपमेयर सुवेदीले बताइन् ।
पूर्वाधार विकासतर्फ २८ करोड ८६ लाख ५० हजार रुपैयाँ विनियोजन गरेको नगरपालिकाले क्रमागत तथा बहुबर्षिय योजनाका लागि १४ करोड एक लाख ५० हजार, ठुला भौतिक पूर्वाधार योजनातर्फ ११ करोड एक लाख, म्याजिक फण्ड तीन करोड र भईपरि आउने तर्फ पुँजीगतमा ७५ लाख रुपैयाँ विनियोजन गरेको छ ।


वातावरण तथा विपद् ब्यवस्थापनमा ९९ लाख ५० हजार र वडा स्तरिय योजनामा आठ करोड ३० लाख रुपैयाँ विनियोजन गरेको छ । नगरस्तरिय चालु योजनाहरुमा चार करोड ९४ लाख र संघीय वित्तिय हस्तान्तरण अन्तर्गत ३६ करोड ९४ लाख विनियोजन गरिएको उपमेयर सुवेदीले बताइन् । संघीय शसर्त कार्यक्रममा ३४ करोड ८४ लाख, संघीय समपुरक कार्यक्रममा ६० लाख, संघीय विशेष अनुदानतर्फका कार्यक्रमहरुका लागि एक करोड ५० लाख रहेको छ ।
प्रदेश बित्तय हस्तान्तरण अन्तर्गत तीन करोड ८० लाख रहेको छ । जसमा प्रदेश शसर्त कार्यक्रम एक करोड १० लाख, प्रदेश समपुरक कार्यक्रम दुई करोड र प्रदेश अनुदान तर्फका कार्यक्रमहरुका लागि ७० लाख रहेको छ ।

कोहलपुरको नीति तथा कार्यक्रममा ‘यूवाको जवानी, कोहलपुरमा लगानी’
कोहलपुर नगरपालिकाले ‘दिगो शान्ति, सुशासन, विकास र समृद्धिको नगर निर्माण’ गर्ने सोँच र लक्ष्य राखेर नीति तथा कार्यक्रम ल्याएको मेयर पूर्णप्रसाद आचार्यले बताएका छन् । ११ नगर सभामा उनले यूवालाई उत्पादनमूलक क्षेत्रमा लगाउन नीति तथा कार्यक्रम ‘युवाको जवानी, कोहलपुरमा लगानी’ कार्यक्रमलाई पहिलो प्राथमिकतामा राखेको बताए ।
नगरपालिकाले शुलभ खाना तथा खाजा घर संचालन गर्ने, नगर पालिकाको विकासका लागि सद्भावना दुत नियूक्त गर्ने, विज्ञहरुको नीति समूह गठन गरि भावी स्वरुपका खाका तयार पार्ने र यसका लागि दक्ष विज्ञको राय सुझाव लिई प्रारुप तयार पार्न देश–विदेशमा रहेका ब्यक्तिहरुलाई खुल्ला आह्वान गर्ने नीति तथा कार्यक्रममा समेटेको छ । ‘उत्कृष्ट प्रारुप पेश गर्ने दक्ष विज्ञलाई उचित पुरस्कार प्रदान गर्न बजेट विनियोजन गरिएको छ,’ मेयर आचार्यले भने ।
कोहलपुर बजारमा सिसिटिभी जडानका लागि बजेट विनियोजन गरिएको बताउँदै उनले सर्पदंश उपचार केन्द्र र रेविज रोगको उपचारका लागि आवश्यक वजेट विनियोजन गरिएको जानकारी दिए । नगर प्रमुख छात्र वृत्ती कोषको लागि १० लाख रुपैँया विनियोजन गरिएको बताउँदै उनले श्रम बंैक र युवा रोजगारका लागि बजेट विनियोजन गरिएको बताए ।