कला

महोत्सवमय बन्दै बाहुण्डाँगी

युवराज अाचार्य
झापा,फागुन १२ ।
सरकारले घोषणा गरेको पर्यटन भ्रमण वर्ष २०२० लाई लक्षित गरी बाहुण्डाँगीबजारमा बाहुण्डाँगी संगीत तथा पर्यटन महोत्सव लाग्दै छ । जसका कारण अहिले बाहुण्डाँगी महोत्सवमय बनिरहेको छ ।

मेचीनगर–४ स्थित बाहुनडाँगी बजारमा बाहुण्डाँगी जेसीजको अायोजनामा आउँदो फागुन १७ देखि २३ गतेसम्म लाग्ने महोत्सव सफल पार्न यतिबेला बाहुण्डाँगीवासी कम्मर कसेर लागि परेका छन् ।

एशियन ग्रामिण पर्यटन महोत्सव पाँचौं संस्करणसम्म उत्साहपूर्वक सहयोग पुर्याएका बाहुनडाँगीवासीले छैटौँ संस्करण यस वर्ष अन्यत्र सारिए पछि अहिले बाहुनडाँगी संगीत तथा पर्यटन महोत्सव सफल पार्न जुटेका छन् ।

मिति नजिकिए संगै अायोजकले प्रचारप्रसारमा तिब्रता दिएको छ । महोत्सवका व्यानर, पमप्लेट, गेट निर्माण लगायतका प्रचारप्रसारका समाग्रीहरूले यतिबेला बाहुण्डाँगी क्षेत्र सजिएको छ ।

महोत्सवका अवलोकनकर्तालाई ग्रामिण संस्कार, संस्कृति, रहनसहन, रीतिरिवाजको चिनारी दिन महोत्सव सञ्चालन गर्न लागिएको अायोजक समितिका संयोजक प्रविन भण्डारीले बताए । महोत्सवमा विभिन्न जातिय परिकार, संस्कृति तथा पर्यटन, व्यवसायिक, जनचेतनामूलकलगायत ४० वटा स्टल रहनेछन् ।

महोत्सवमा ख्यातीप्राप्त राष्ट्रिय कलाकारहरू प्रमोद खरेल, पुष्पन प्रधान, आस्था राउत, मेलिना राई, सुगम पोखरेल, प्रितम आचार्य, लाहुरेलगायतको प्रस्तुति रहने छ । त्यस्तै, महोत्सवमा वेभ ब्याण्ड, आरम्भ ब्याण्ड, मन्त्र ब्याण्डलगायतका विभिन्न ब्याण्डको प्रस्तुति रहने आयोजकले जनाएको छ ।

आयोजकले साताव्यापी महोत्सवमा करिब २७ लाख रुपैयाँ खर्च पूर्वानुमान गरिएको जनाएको छ । उक्त महोत्सवमा बालमैत्री खेलहरु, साविक बाहुनडाँगी गाविसको विद्यालयस्तरीय गायन तथा नृत्य प्रतियोगिता, पर्यटनसँग सम्बन्धित समूहगत छलफल, साहित्यिक कार्यक्रम प्रस्तुत गरिने आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.