स्वास्थ्य

झापासहित २७ जिल्लाका बालबालिकालाई कोरोनाविरुद्धको दोस्रो खोप दिइने

झापा। पाँच वर्षदेखि १२ बर्षमुनिका झापासहित २७ जिल्लाका बालबालिकालाई सोमबार (आज) देखि कोरोनाविरुद्धको दोस्रो मात्रा खोप दिइने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका अनुसार असार ९ देखि १५ गतेसम्म पहिलो मात्रा फाइजर खोप लगाएका पाँचदेखि ११ वर्षका बालबालिकालाई आजबाट दोस्रो मात्रा खोप दिइने भएको हो ।

२ गतेदेखि साउन ८ गतेसम्म नजिकैको विद्यालयमा रहेको खोप केन्द्रबाट खोप लगाउन सकिने मन्त्रालयले जनाएको छ । दोस्रो मात्रा खोप लगाउन जाँदा खोप कार्ड अनिवार्य लैजानुपर्ने छ ।

प्रदेश १ का झापा, इलाम, मोरङ र सुनसरी, मधेश प्रदेशका सप्तरी, धनुषा, पर्सा, सिराहा र महोत्तरी, बागमती प्रदेशका काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, चितवन, सिन्धुली र मकवानपुर जिल्लामा दोस्रो मात्रा खोप दिइने छ ।

यस्तै गण्डकी प्रदेशका कास्की र नवलपुर, लुम्बिनीका नवलपरासी पश्चिम, रुपन्देही, बाँके, दाङ र बर्दिया, कर्णालीको सुर्खेत र सुदुरपश्चिम प्रदेशका कैलाली कञ्चनपुर र डडेल्धुरामा खोप अभियान चलाइने मन्त्रालयले जनाएको छ ।

बाँकी ५० जिल्लाका बालबालिकालाई भने भदौ ५ गतेदेखि ११ गतेसम्म पहिलो र भदौ २७ देखि असोज १ गतेसम्म दोस्रो मात्रा खोप दिइने मन्त्रालयले जनाएको छ ।