बाहुण्डाँगी । नारायणगढ लेडी जेसीजको जेसीज सप्ताह अन्तर्गत दोस्रो कार्यक्रम स्लो स्कुटी रेस सम्पन्न भएको छ । नारायणगढस्थित पुलचोकमा सम्पन्न स्लो रेस प्रतियोगितामा निता श्रेष्ठ सबै भन्दा ढिलो दुरी पार गर्दै विजेता बन्नु भएको छ । विजेता भएसँगै उहाँले एक थान हेल्मेट प्राप्त गर्नु भएको थियो ।

दुर्घटनाबाट बच्न मोटरसाइकल तथा स्कुटी सवारी चालक अनिवार्य हेल्मेट लगाउनु पर्छ भन्ने सन्देशसँगै प्रतियोगितामा विजेता हुनेलाई हेल्मेट उपहार प्रदान गरिएको शाखाकी महासचिव हिमा श्रेष्ठले बताउनु भयो ।
यसैगरी प्रतियोगितामा मिना गुरुङ दोस्रो र दिपा शाही तेस्रो हुनु भएको थियो । प्रतियोगितामा ११ जना स्कुटी चालकको सहभागिता रहेको थियो ।

शाखाकी अध्यक्ष अनिता श्रेष्ठ अधिकारीको सभापतित्व तथा जिल्ला ट्राफिक कार्यालय चितवनका प्रहरी नायब निरीक्षक धर्म बहादुर अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नारायणगढ लेडि जेसिजकी पुर्व अध्यक्ष एवम् नेपाल जेसिजका पुर्व कानुनी सल्लाहकार सिनेटर मनषा थैव श्रेष्ठ, शाखाकी निवर्तमान अध्यक्ष सिनेटर सम्झना प्रधान, मातृ शाखा नारायणगढ जेसीजका कार्यकारिणी उपाध्यक्ष बिनोद पन्त, शाखा सम्पादक कपिल श्रेष्ठलगायतको सहभागिता रहेको थियो ।
कार्यक्रमको सञ्चालन महासचिव हिमा श्रेष्ठले गर्नु भएको थियो ।




