संघ \संस्था

सलल सेवा दिन कर्मचारीलाई मेयर बुढाथोकीको ठाडो निर्देशन

मेचीनगर । मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले नगरपालिकाको सेवालाई सलल बनाउन कर्मचारीलाई ठाडो निर्देशन दिएका छन् ।

सोमबार मेचीनगर नगरपालिकाको सभाहलमा पाचौँ र त्यसभन्दा माथिल्लो तहका कर्मचारीलाई उनले यस्तो निर्देशन दिएका हुन् ।

‘जनतामा नगरपालिकाको सेवाप्रति नकारात्मक भावना जागृत भएको छ, नगरपालिकाको सेवाबाट जनता सन्तुष्ट छैनन्’ कर्मचारीसँग उनले भने ।सेवा दिन आउने सबै सेवाग्राहीलाई समान व्यवहार गर्नुपर्नेमा त्यसो नभएकोप्रति असन्तुष्टि व्यक्त गर्दै मेयर बुढाथोकीले भने, ‘१० देखि ५ बजेसम्मको समय तपाईँहरुले जनतालाई बेचेको समय हो, त्यो अवधिको सही सदुपयोग गर्नुस् ।’

‘सेवाग्राही कार्यालय परिसरभित्र अल्मलिरहेका छन्, उनीहरुलाई सहजीकरण गरी आवश्यक सहयोग गर्नु तपाईँहरुको दायित्व हो’ उनले थपे, ‘त्यसप्रति तपाईँहरु सजग बन्न जरुरी छ ।’

May be an image of 9 people, people sitting, people standing and indoor

सोमबारबाट सुरु कर्मचारी सुदृढीकरण सम्बन्धी दुई दिवशीय कार्यक्रम मंगलबार समापन हुने बताइएको छ । मेयर बुढाथोकीले मंगलबार अन्य तहका कर्मचारीहरुलाई आवश्यक निर्देशन दिने जनाइएको छ ।