बाहुण्डाँगी । पर्वत जेसीजले संचालन गरेको जेसीज सप्ताह—२०२२ सम्पन्न भएको छ। भाद्र २३ देखि २९ गते सम्म संचालन भएको सप्ताहव्यापी कार्यक्रम विभिन्न रचनात्मक कार्य सहित सम्पन्न भएको हो।
सप्ताहव्यापी कार्यक्रम अन्तर्गत सचिवालय व्यवस्थापन, महिला हिंसा विरुद्ध सम्बन्धी सचेतना तथा कानुनी उपचार, सरसफाई, गोडमेल तथा वृक्षरोपण, लागुपदार्थ दुर्व्यसनी विरुद्ध सचेतना , जेसीज गाउँ चुवामा स्टेशनरी तथा खेलकुद सामग्री वितरण, ट्राफिक सचेतना कार्यक्रम, नेतृत्व विकास तालिम तथा एकल महिला उद्यमी सम्मान कार्यक्रम गरिएको जेसिजकी वर्ष २०२२ कि अध्यक्ष उषा चापागाईले जानकारी गराइन्।
एकल महिला उद्यमी सम्मान अन्तर्गत कुश्मा नगरपालिका ५ का पाउँरोटी उद्योगी यामकुमारी अधिकारी र टेम्पो चालक ढिलकुमारी नेपालीलाई सम्मान गरिएको छ। सम्मानित महिला समाजका उदाहरणीय पात्र भएकाले सम्मान गरिएको चापागाईले बताईन ।
कार्यक्रममा नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष धनञ्य कुमार श्रेष्ठले पर्वत जेसीजले युवा, महिला, वातावरण र समाजसँग जोडीएर काम गरेको बताए । उनले युवाहरुको व्यक्तित्व र नेतृत्वको विकासका लागि जेसिजले महत्वपूर्ण स्थान दिएको बताउँदै युवाहरुलाई जेसीजमा जोडीन आग्रह गरे।
कार्यक्रममा बागलुङ जेसीजका उपाध्यक्ष योजिला श्रेष्ठ, म्याग्दी जेसीजका अध्यक्ष सन्दिप खत्री, पर्वत जेसीज अध्यक्षीय क्लबका अध्यक्ष राजन श्रेष्ठ लगायतले पर्वत जेसीजले समाजमा खेलेको भुमिका बारे चर्चा गरेका थिए ।

