समाचार

देशैभर उत्साहजनक रूपमा उम्मेदवारी मनोनयन दर्ता

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको लागि राजनीतिक दलहरूले आइतबार उम्मेदवारी मनोनयन दर्ता गरेका छन् । देशैभर शान्तिपूर्ण रूपमा उम्मेदवारी मनोनयन दर्ता भएको निर्वाचन आयोगले जनाएको छ । प्रतिनिसिभातर्फ १६५ र प्रदेशसभातर्फ ३३० सिटका लागि ठूलो संख्यामा उम्मेदवारी परेको छ । मनोनयन दर्ताका क्रममा राजनीतिक दलका नेता कार्यकर्ताहरूमा उत्साह देखिएको थियो । उम्मेदवारी मनोनयन गर्न जाँदा कसैले नृत्य एवं झाँकीहरूसहित उम्मदेवारी दर्ता गरेका छन् भने कसैले सामान्य रूपमा उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी मनोनयन दर्ताको दिन प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूले पनि आ–आफ्ना निर्वाचन क्षेत्रमा पुगेर उम्मेदवारी दर्ता गराएका छन् । अधिकांश शीर्ष नेताहरू आफँै निर्वाचन क्षेत्रमा गएर मनोनयन दर्ता गरे पनि केही शीर्ष नेताले भने वारेसमार्फत उम्मेदवारी दर्ता गराउनुभएको छ ।

प्रधानमन्त्रीसमेत रहनुभएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पत्नी आरजू देउवामार्फत डडेल्धुरामा उम्मेदवारी दर्ता गराउनुभएको छ । २०४८ सालदेखिका सबै निर्वाचन जित्दै आउनुभएका देउवा सातौँपटक उम्मेदवार बन्नुभएको छ । यसपटक भने देउवाले कुनै समयका उहाँकै सहयोगी कर्ण मल्ल र स्वतन्त्र उम्मेदवार गुल्मीका सागर ढकालको चुनौती सामना गर्नुपर्ने भएको छ । पाँचपटक मुलुकको प्रधानमन्त्री भइसक्नु भएका देउवा सबैभन्दा बढी चुनाव जित्ने नेताको शीर्ष स्थानमा हुनुहुन्छ । पूर्व–प्रधानमन्त्रीसमेत रहनुभएका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफैँ झापाको क्षेत्र नम्बर ५ को निर्वाचन कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराउनुभएको छ । २०६४ सालको पहिलो संविधानसभा निर्वाचन हार्नुबाहेक ओली निरन्तर चुनाव जित्दै आउनुभएको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोरखाको क्षेत्र नम्बर २ को निर्वाचन कार्यालयमा आफैँ पुगेर उम्मेदवारी दर्ता गराउनुभएको छ । सबैभन्दा धेरै निर्वाचन क्षेत्र परिवर्तन गर्ने नेताको छवि बनाउनुभएका दाहालले डा. बाबुराम भट्टराईलाई साथै लिएर उम्मेदवारी दर्ता गराउनुभएको हो । शान्तिपूर्ण राजनीतिमा आएपछि २०६४ सालमा पहिलोपटक संसदीय निर्वाचन लड्नुभएका दाहालले रोल्पा २ र काठमाडौं १० दुई ठाउँबाट उम्मेदवारी दिएर विजयी हुनुभएको थियो । दोस्रो संविधानसभा निर्वाचनमा काठमाडौं १० र सिरहाबाट उम्मेदवारी दिए पनि काठमाडौं १० मा पराजित हुनुभएको थियो । २०७४ सालको निर्वाचनमा चितवन ३ बाट विजयी हुनुभएका दाहाल आसन्न निर्वाचनको लागि गोरखाबाट उम्मेदवारी दिनुभएको छ ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पनि रौतहट क्षेत्र नम्बर १ पुगेर उम्मेदवारी दर्ता गराउनुभएको छ । अघिल्लो चुनावमा काठमाडौं २ बाट विजयी हुनुभएका नेपालले यसपटक भने गृहजिल्ला रौतहटबाट उम्मेदवारी दिनुभएको छ । नेपाली कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँ क्षेत्र नम्बर १ बाट उम्मेदवारी दर्ता गराउनुभएको छ । २०४८ देखि निरन्तर चुनाव जित्दै आउनुभएका पौडेल अघिल्लो चुनावमा भने तत्कालीन वाम गठबन्धनका उम्मेदवार किसान श्रेष्ठसँग पराजित हुनुभएको थियो । नेता पौडेललाई चुनौती दिँदै नेपाली कांग्रेसका पुराना नेता गोविन्दराज जोशीले पनि तनहुँ क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको छ । आफ्ना समर्थकहरूको जुलुससहित तनहुँ– १ को निर्वाचन कार्यालय पुगेर पूर्व-गृहमन्त्रीसमेत रहनुभएका जोशीले स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको हो । आगामी मंसिर ४ मा हुने निर्वाचनमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँमा आफ्ना सदावहार प्रतिस्पर्धी गोविन्दराज जोशीको स्वतन्त्र उम्मेदवारी झेल्नुपर्ने भएको छ ।

कांग्रेस नेता शेखर कोइरालाले मोरङ ६ बाट उम्मेदवारी मनोनयन दर्ता गर्नुभएको छ । कांग्रेसमा संस्थापनइतर समूहको नेतृत्व गरिरहनुभएका कोइराला अघिल्लो चुनावमा वाम गठबन्धनका उम्मेदवार लालबाबु पण्डितसँग पराजित हुनुभएको थियो । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले सप्तरी २ उम्मेदवारी दिनुभएको छ । मधेश केन्द्रित अर्को दल लोकतान्त्रिक समाजवादी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले महोत्तरी ३ बाट उम्मेदवारी दिनुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन पनि आफैँ झापाको क्षेत्र नम्बर ३ पुगेर उम्मेदवारी दर्ता गराउनुभएको छ । राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले काठमाडौंको क्षेत्र नम्बर १ बाट उम्मेदवारी दर्ता गराउनुभएको छ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पनि काठमाडौं १ बाट उम्मेद्वारी दिनुभएको छ । अघिल्लो निर्वाचनमा जस्तै काठमाडौं क्षेत्र नम्बर १ मा पुन सिंह र मिश्रबीच प्रतिस्पर्धा निश्चित भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले आफैँ चितवनको क्षेत्र नम्बर २ को निर्वाचन कार्यालय पुगेर उम्मेदवारी दर्ता गराउनुभएको छ ।

कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले सुर्खेत १ र अर्का उपसभापति धनराज गुरुङले स्याङ्जा २ बाट उम्मेदवारी मनोनयन दर्ता गर्नुभएको छ । कांग्रेस महामन्त्री गगन थापाले काठमाडौं ४ मा उम्मेदवारी दर्ता गराउँदा अर्का महामन्त्री विश्वप्रकाश शर्माले झापा १ बाट उम्मेदवारी दर्ता गराउनुभएको छ । एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले काठमाडांै ५, अर्का उपाध्यक्ष विष्णु पौडेलले रुपन्देही २ र संविधानसभाका अध्यक्षसमेत रहनुभएका उपाध्यक्ष सुवास नेम्वाङले इलाम २ बाट उम्मेदवारी दर्ता गराउनुभएको छ । एमाले महासचिव शंकर पोखरेलले दाङ २ बाट उम्मेदवारी दर्ता गर्नुभएको छ । माओवादी केन्द्रका महासचिव देव गुरुङले लमजुङबाट उम्मेदवारी दर्ता गर्नुभएको छ भने नेकपा एसका सम्मानित नेता झलनाथ खनालले इलाम १ बाट उम्मेदवारी मनोनयन दर्ता गर्नुभएको छ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बाग्लुङ १ बाट उम्मेदवारी दर्ता गर्नुभएको छ । लोकतान्त्रिक समाजवादीका नेता राजेन्द्र महतोले सर्लाही २ बाट उम्मेदवारी दर्ता गराउँदा नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्र रायले पनि सोही क्षेत्रबाट उम्मेदवारी दर्ता गराउनुभएको छ ।

पूर्वसभामुख ओनसरी घर्तीले काठमाडांै क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गराउनुभएको छ भने अर्थमन्त्रीसमेत रहनुभएका जनार्दन शर्माले रुकुम पश्चिमबाट उम्मेदवारी दर्ता गराउनुभएको छ । माओवादीका प्रभावशाली नेतामध्येका एक वर्षमान पुनले रोल्पाबाट उम्मेदवारी दर्ता गर्नुभएको छ । राप्रपाका वरिष्ठ नेता दीपक बोहराले एमाले गठबन्धनको सहयोगमा रुपन्देही क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दर्ता गराउनुभएको छ । गृहमन्त्री बालकृष्ण खाँणले पनि रुपन्देही ३ बाटै उम्मेदवारी दर्ता गर्नुभएको छ । अर्बपति विनोद चौधरीले नवलपरासी पश्चिम १ बाट उम्मेदवारी दर्ता गराउनुभएको छ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले एमालेको समर्थनमा मकवानपुर १ बाट उम्मेदवारी दर्ता गराउनुभएको छ ।

यी हुन् चुनावी प्रतिस्पर्धाबाट बाहिरिएका चर्चित नेता
नेकपा एमालेका शीर्ष नेतामध्ये अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, युवराज ज्ञवाली आसन्न निर्वाचनमा नउठ्ने भएका छन् । नेकपा एमालेका पूर्वउपाध्यक्ष भीम रावल पनि निर्वाचनको प्रतिस्पर्धाबाट बाहिरिनुभएको छ । यस्तै, नेकपा एमालेबाट बाहिरिएर नेकपा एकीकरण राष्ट्रिय अभियान गठन गर्नुभएका एमालेका पूर्व-उपाध्यक्ष वामदेव गौतम पनि आगामी निर्वाचनमा नउठ्ने हुनुभएको छ । कुनैबेला नेपाली राजनीतिक हर्ताकर्ताको रूपमा चिनिएका गौतमले माओवादी केन्द्रको चुनाव चिन्हबाट चुनाव लड्ने घोषणा गर्नुभएको थियो । तर, गठबन्धनबाट निर्वाचन क्षेत्र भागमा नपरेपछि गौतम चुनाव लड्नबाट वञ्चित हुनुभयो । नेकपा माओवादी केन्द्रका तीनजना शक्तिशाली नेताहरूले पनि यसपटकको प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिनुभएन । उपाध्यक्ष कृष्णबहादुर महरा, उपमहासचिव हरिबोल गजुरेल र सभामुख अग्निप्रसाद सापकोटा योपटक प्रतिस्पर्धा नगर्ने भएका हुन् । तीनैजना नेताहरू २०६४ सालको पहिलो संविधानसभा निर्वाचनयता निरन्तर जित्दै आउनुभएको थियो । यस्तै, नेपाली कांग्रेसका नेता एंव पूर्व-अर्थमन्त्री डा.रामशरण महत, डा.मीनेन्द्र रिजाल र महेश आचार्य, गुरुराज घिमिरेलगायत नेताहरू पनि आसन्न निर्वाचनको प्रतिस्पर्धाबाट बाहिरिनुभएको छ ।

गोरखा आएर मैले एउटा रेकर्ड बनाएको छु : अध्यक्ष दाहाल
नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले गोरखा आएर एउटा नयाँ रेकर्ड बनाएको बताउनुभएको छ । गोरखा क्षेत्र नं. २ बाट प्रतिनिधिसभाको लागि उम्मेदवारी मनोनयनपछि संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष दाहालले धेरै ठाउँबाट चुनाव लडेर रेकर्ड बनाएको बताउनुभएको हो । गोरखाबाट आफ्ना सहकर्मी डा.बाबुराम भट्टराईले चुनाव जितेर अर्थमन्त्री भएको र पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पनि चुनाव लडेकोले आफ्नो लागि यो सुपरिचित जिल्ला रहेको जिकिर गर्दै अध्यक्ष दाहालले भन्नुभयो, ‘इतिहासको दृष्टिकोण र आधुनिक नेपालको दृष्टिकोणले पनि गोरखा मेरो लागि सुपरिचित छ । मैले यहाँ बसेर भर्खर युवा अवस्थामा अध्यापन गरेको जिल्ला पनि हो । गोरखामै पार्टी हेडक्वार्टर राखेर जनयुद्धको तयारी गरेको र पहिलो सैनिक तालिम पनि यहीँ गरेको हो । यहाँ आउँदा मलाई कहाँ आएँ कहाँ आएँजस्तो लागेको छैन । परिचित जनता र साथीको बीचमा आएको महसुस गरेको छु । मैले पहिला रोल्पा, काठमाडौं, मधेशमा सिरहा, गृहजिल्ला चितवनबाट निर्वाचन लडेको छु । यसरी देशको पूर्वपश्चिम, मधेश–पहाड घुम्दै चुनाव लड्ने सायद नेपालको इतिहासमा म नै पहिलो भएको छु कि जस्तो लागेको छ । गोरखा आएपछि एउटा रेकर्ड बन्यो भन्ने लागेको छ । गोरखा आउँदा मैले विशेष गर्वको महसुस गरेको छु ।’

मनोनयन दर्ता गर्दा एमाले अध्यक्ष ओलीविरुद्ध नाराबाजी
अछाम क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यका लागि झपट बोहोराले मनोनयन दर्ता गराउन जाँदा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध नाराबाजी भएको छ । बोहोराले उम्मेदवारी दर्ता गराउन जाँदा आइतबार दिउँसो ‘नेकपा एमाले जिन्दावाद, केपी ओली मूर्दावाद’को नारा लागेको हो । नाराबाजी गर्नेहरूले कालोझण्डा पनि देखाएका छन् । अछाम १ बाट प्रतिनिधिसभा सदस्यका लागि एमाले नेता भीम रावल एकल सिफारिस हुनुभएको थियो । तर, एमाले अध्यक्ष ओलीले बोहोरालाई टिकट दिनुभएको छ । रावलले टिकट नपाएपछि नेकपा एमाले अछाम जिल्ला कमिटीका चारजना सचिवालय सदस्यसहित ४० जनाले एमाले छाडेको घोषणा गरेका छन् ।

रेशम चौधरीद्वारा जेलबाटै बर्दिया २ मा उम्मेदवारी
नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले बर्दिया निर्वाचन क्षेत्र नं २ बाट उम्मेदवारी दर्ता गराउनुभएको छ । मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि चौधरीले वारेसमार्फत उम्मेदवारी दर्ता गराउनुभएको हो । चौधरीले उम्मेदवारी दर्ता प्रतिनिधि झग्गुप्रसाद चौधरीमार्फत भएको हो । २०७४ को निर्वाचनमा कैलाली निर्वाचन क्षेत्र १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा बहुमतले विजयी हुनुभएका रेशम चौधरीलाई टीकापुर घटना मुद्दामा जिल्ला अदालत कैलाली र उच्च अदालत दिपायलले दोषी ठहर गरेपछि हाल जेल जीवन बिताउँदै आउनुभएको छ । हाल सो मुद्दा सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा रहेको छ ।

जगन्नाथ पौडेलको उम्मेदवारी धरापमा
चितवन निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिनुभएका जगन्नाथ पौडेलले सात लाख ५० हजार रुपैयाँ जरिवाना नतिरे उम्मेदवारी रद्द हुने भएको छ । गत स्थानीय तह निर्वाचनका बेला भरतपुर नगर प्रमुखको उम्मेदवार बन्नुभएका पौडेलले निर्वाचन खर्च नबुझाएका कारण निर्वाचन आयोगले कालोसूचीमा राखेको छ । गत असोजको पहिलो साता आयोगले स्थानीय तह निर्वाचनमा उम्मेदवार भई खर्च विवरण नबुझाउने एक लाख २३ हजार उम्मेदवारको सूची प्रकाशन गर्दै उम्मेदवारी दिएको पदअनुसार जरिवाना तोकेको थियो । ती उम्मेदवारले ६ महिनाभित्र जरिवाना रकम नतिरे ६ वर्षसम्म कुनै पनि निर्वाचनमा उम्मेदवार हुन नसक्ने गरी कालोसूचीमा राखिने आयोगले बताएको थियो । सोअनुसार चितवन क्षेत्र नम्बर ३ मा उम्मेदवारी दर्ता गर्नुभएका पौडेलले सो रकम नतिरे उम्मेदवारी खारेज हुने भएको हो । नेपाली कांग्रेसका नेता रहेका पौडेलले गत स्थानीय तहको निर्वाचनमा पनि पार्टीले गरेको गठबन्धनलाई चुनौती दिँदै महानगर प्रमुखमा उम्मेदवारी दिनुभएको थियो ।

हुम्लाका उम्मेदवारद्वारा काठमाडौंमै मनोनयन दर्ता
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि हिमाली जिल्ला हुम्लाका उम्मेदवारहरूले काठमाडौंबाट नै मनोनयन दर्ता गराएका छन् । विगत हप्ता दिनदेखि परेको वर्षाका कारण दुर्गम हिमाली जिल्लाहरूमा हिमपात भइरहेकाले विमान जान नसक्दा हुम्ला जिल्लाका उम्मेदवारहरूले भने निर्वाचन आयोगमा उपस्थित भएर मनोनयन पत्र दर्ता गराएका हुन् । नेकपा (एमाले) को तर्फबाट हुम्ला जिल्लामा प्रतिनिधिसभाका उम्मेदवार दल रावलले मौसम खराबीका कारण जिल्लामा जान नसकेका कारण पार्टीको औपचारिक पत्र र प्रतिनिधि करार गरेको पत्र निर्वाचन आयोगमार्फत सम्बन्धित निर्वाचन कार्यालयमा पठाएको जानकारी दिनुभयो । रावलले आफ्नो पार्टीको प्रतिनिधिसभा र प्रदेशसभामा पनि निर्वाचन आयोगमार्फत नै मनोनयन दर्ता गराएको बताउनुभयो । सत्ता गठबन्धनका उम्मेदवारले पनि काठमाडौंबाट नै मनोनयन दर्ता गराएको बताएका छन् ।

‘अबको प्रधानमन्त्री म’: डा.कोइराला
नेपाली कांग्रेसका पूर्व-महामन्त्री एवं पूर्वी नवलपरासी–१ बाट नेपाली कांग्रेसका उम्मेदवार डा. शशांक कोइरालाले निर्वाचनपछि आफू प्रधानमन्त्री बन्ने दाबी गर्नुभएको छ । निर्वाचन अधिकृतको कार्यालय कावासोतीमा मनोनयन दर्ता गरेपछि पत्रकारसँग कुराकानी गर्दै डा. कोइरालाले भन्नुभयो, ‘तीन पटकसम्म चुनाव जितिसकेको छु । यस क्षेत्रका जनताले मलाई विश्वास गरेका छन् । यो चुनाव जितेपछि म राष्ट्रको सेवा गर्न कांग्रेसको तर्फबाट प्रधानमन्त्रीको उम्मेदवारको रूपमा अगाडि बढ्नेछु । पार्टीभित्र पनि मैले सोहीअनुसार कुराकानी गरेको छु ।’

डडेल्धुरामा टुट्यो एमाले र कांग्रेस बिपीको गठबन्धन
प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा नेकपा एमाले र कांग्रेस बिपीबीचको गठबन्धन टुटेको छ । कांग्रेस बिपीसँगको सहमतिविपरीत नेकपा एमालेका नेता विक्रमबहादुर शाहीले डडेल्धुरामा उम्मेदवारी दर्ता गराएपछि गठबन्धन टुटेको हो । डडेल्धुरामा नेकपा एमालेले कांग्रेस बिपीसँग चुनावी तालमेल गरेको छ । एउटा मात्रै संघीय निर्वाचन क्षेत्र रहेको डडेल्धुरामा एमालेले कांग्रेस बिपीसँग उम्मेदवार नउठाएर कांग्रेस बिपीका वरिष्ठ उपसभापति कर्णबहादुर मल्ललाई समर्थन गर्ने सहमति गरेको थियो । तर, उक्त सहमतिविपरीत एमाले नेता विक्रमबहादुर शाहीले डडेल्धुरा प्रतिनिधिसभातर्फ उम्मेदवारी दर्ता गराउनुभएको हो ।

प्रतिनिधिसभातर्फ २१२८ र प्रदेशसभातर्फ २८४५ जनाको उम्मेदवारी दर्ता
निर्वाचन आयोगले आइतबार रातिसम्म २१२८ जनाले मंसिर ४ गते हुने निर्वाचनका लागि प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता गराएको विवरण प्राप्त भएको जनाएको छ । कतिपय जिल्ला र निर्वाचन क्षेत्रमा सञ्चार सम्पर्क सहज नभएकाले यकिन विवरण प्रविष्ट हुन बाँकी नै रहेको आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

आयोगका अनुसार देशभर १९३७ पुरुष र १९१ महिला गरी कुल २१२८ उम्मेदवारहरूले आफ्नो उम्मेदवारी दर्ता गराइसकेका हुन् । यस्तै, प्रदेशसभातर्फ २६०० पुरुष, २४४ महिला र एक अन्य गरी २८४५ जनाको उम्मेदवारी दर्ता भएको छ । सोमध्ये प्रदेश नं. १ मा ४४५ पुरुष, ४९ महिला गरी ४९४, मधेश प्रदेशमा ७११ पुरुष, ५५ महिला र एक अन्य गरी ७६७, बागमती प्रदेशमा ५६१ पुरुष, ७४ महिला गरी ६३५, गण्डकी प्रदेशमा १९९ पुरुष, २९ महिला गरी २२८, लुम्बिनी प्रदेशमा ४१४ पुरुष, २३ महिला गरी ४३७, कर्णाली प्रदेशमा ७९ पुरुष, दुई महिला गरी ८१ र सुदूरपश्चिम प्रदेशमा १९१ पुरुष, १२ महिला गरी २०३ उम्मेदवारहरूले उम्मेदवारी दर्ता गराएका छन् ।